न्युयोर्कको ‘फेसन शो’मा कल्पनाको ढाका पहिरन
screennepal
प्रकाशित: २०७६, २४ श्रावण शुक्रबार
no img

ढाका पहिरन भन्नेवित्तिकै कल्पना योङहाङ लिम्बूको नाम आउँछ । द हाइल्याण्ड आर्ट तथा कल्पना ढाका बुटिकमार्फत नेपाली ढाका कपडा एवं पहिरनलाई विश्व बजारमा प्रवद्र्धन गर्दै आएकी कल्पना ढाकाविद्समेत हुन् । महिला उद्योमी समेत रहेकी कल्पनाको ढाका डिजाइनहरु अब अमेरिकाको न्युयोर्कस्थित एक प्रतिष्ठित शोमा प्रदर्शन हुने भएको छ ।
यही अगष्ट १७ मा आयोजना हुन लागेको ‘मिस नेपाल नर्थ अमेरिका’ कार्यक्रममा नेपाली ढाका पहिरनको विशेष ‘शो’ हुने भएको छ, जसमा फेसन डिजाइनर तथा ढाकाविद् कल्पनाले डिजाइन गरेका नेपाली ढाका पहिरनहरु प्रदर्शन हुनेछ ।
विदेशमा हुने सांस्कृतिक पहिरन ‘शो’मा नेपालको परम्परागत व्यवसाय ढाका कपडामा तयार पारिएको पहिरन लगाउने भएपछि त्यसको जिम्मेवारी आफूले पाएको कल्पनाले बताइन् । नेपालको पुर्वी जिल्ला हुँदै देश–विदेशसम्म ढाका परिहन लोकप्रिय बन्दै जानुमा कल्पनाको ठूलो देन छ ।
द हाइल्याण्ड आर्टबाट उत्पादित तथा कल्पना बुटिकद्वारा तयार पारिएको ढाका पहिरनहरुले पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा समेत चर्चा पाउँदै गएको छ । नेपाली ढाकालाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने उद्देश्यले करिब ढेड वर्षअघि मात्र अमेरिकाको एरिजोनमा उनले ‘कल्पना ढाका बुटिक’को शाखा विस्तार गरेकी थिइन् । अहिले उक्त बुटिकबाट त्यहाँ रहेका ढाका पहिरन प्रेमीहरुको इच्छा पूर्ति गर्दै आएको छ ।
हाते तानबाट बुनेको नेपाली ढाकालाई विश्व बजारमा चिनाउन उनी यक्तिगतरूपमा क्यानडा, जापान, अमेरिकालगायत थुप्रै एसियाली र युरोपेली देशहरु पुगिसेकी छन् । उनले भनिन्, ‘तर, यसरी अन्तर्राष्ट्रिय कार्यक्रममा ढाका कपडाको माग आएको पहिलोपटक हो ।’ उक्त कार्यक्रमले नेपालको ढाका कपडालाई विश्व बजारमा चिनाउनको निम्ति थप सहयोग पु¥याउने उनको अपेक्षा छ ।
उक्त कार्यक्रममा नेपाल र अमेरिका दुवै देशका मोडलहरूको भेला बताइएको छ । कार्यक्रममा नेपाली १७ जना मोडलले ‘सांस्कृतिक पहिरन शो’मा भाग लिँदैछन् । जसमा २०१८ मिस नेपाल शृँखला खतिवडा, २०१० मिस नेपाल सदिक्षा श्रेष्ठलगायत विभिन्न गायक÷गायिकाहरूको सहभागिता रहने भएको छ ।
ढाका डिजाइनर कल्पनाको ‘द हाइल्याण्ड आर्ट’ कम्पनी अमेरिकाको टेक्सासस्थित टिसा कम्पनीसँग जोडिएको छ । टिसासँग मिलेर उनले ढाका व्यवसाय फैलाएकी हुन् । यसै कम्पनीमार्फत उनले नेपाली ढाकाको डिजाइन गरेर ड्रेस पठाउन लागेको कल्पनाले बताइन् । हाल कल्पनाको बौद्धमा ‘कल्पना ढाका बुटिक’ रहेको छ भने गोकर्णमा द हाइल्याण्ड आर्ट ढाका उद्योग रहेको छ ।

Comments