निर्देशक दिपेन्द्र भन्छन्, ‘सानो पानी परेर हुँदैन, ठूलै झरी पर्नुपर्छ’
screennepal
प्रकाशित: २०७६, २४ श्रावण शुक्रबार
no img

बिहिबार दिनभर चलचित्र ‘आमा’को टिम कोटेश्वरमा थियो । कोटेश्वरमा बसेर दिनभर पानी कुर्दा कुर्दा पानी परेन । त्रिभुवन विमानस्थलको रन वेसम्म परेको पानी कोटेश्वर चोकमा परेन । पानी नपरेपछि दिनभर टिम सक्रिय त भयो, तर काम हुनै सकेन ।
यस्तो समस्या ‘आमा’को टिमले भोगेको पहिलोपटक होइन । कैयौँपटक पानी नपर्दा यो समस्या परेको छ । जसले गर्दा, चलचित्रको बजेटमात्र होइन, काम गर्न पनि समस्या परेको छ । निर्देशक दिपेन्द्र के खनालले भने, ‘पानी पर्छ भनेर हामी रातको २ बजेसम्म बसेका छौँ । तर, पानी नपर्दा दृश्य खिच्न सकिएको छैन ।’ चलचित्रको ६५ प्रतिशत काम सकिएको छ । अब ३५ प्रतिशत दृश्यमा पानी चाहिन्छ । निर्देशकले भने, ‘हामीलाई सानो पानी परेरमात्र हुँदैन । ठूलै झरी नै पर्नुपर्छ । तर, यसपटक पानी नपर्दा गाह्रो भयो । पानी पर्छ भनेर साउनमै छायांकन राखेको, झन् पानी नै परिदिएन ।’
शर्मिला पाण्डेको लगाननीमा बनेको यो चलचित्रको छायाँकन असारको १६ गतेबाट सुरु भएको हो । तर, निर्देशकले सोचेअनुसार काम नहुँदा अप्ठ्यारो परिरहेको छ ।
चलचित्रमा मिथिला शर्मा, सुरक्षा पन्त आमा र छोरीको भूमिकामा छन् ।
चलचित्रको रिलिज मिति फागूण ९ गतेलाई तोकिएको छ । डीएस डिजिटलको ब्यानरमा यो चलचित्र बनिरहेको छ । अरु कुनै विकल्पमा पानी देखाएर चलचित्र खिच्न मिल्दैन र भन्ने प्रश्नमा दिपेन्द्र भन्छन्, ‘क्लोज सर्टमा त संभव होला । तर, वाइड सर्टमा त पानी नै पर्नुपर्छ ।’
दिपेन्द्रले दैनिक २ लाखभन्दा बढी खर्च भएपनि काम हुन नसकेको बताए । निर्देशक खनालले निराश हुँदै भने, ‘खै म त के गरुँ गरुँ निर्णय नै गर्न सकेको छैन । अब, सबै दृश्यमा पानी चाहिन्छ । तर, मौसमले साथ दिएनँ ।’
निर्देशक खनालले ‘पशुपति प्रसाद’पछि दर्शकले अर्को मनमा छुने कथामा चलचित्र हेर्न पाउने दाबी गर्दै आएका छन् ।

Comments