पर्दामा उतारिँदै ‘म’
screennepal
प्रकाशित: २०७६, २० श्रावण सोमबार
no img

नेपाली फिल्म म’ निर्माण हुने भएको छ । सोमबार काठमाडौंमा एक समारोहबीच ‘म’ निर्माण घोषणा गरिएको हो । लामो समयदेखि फिल्मसम्बन्धी अध्ययन गराउँदै आएको कान्तिपुर फिल्म एकेडेमीले यो फिल्म निर्माण गर्न लागेको हो ।
फिल्म ‘म’लाई परिच्छेद सेनले निर्देशन गर्नेछन् । यसअघि लघुफिल्म निर्देशन गर्दै आएका सेनले ठुलो पर्दाको पहिलोपटक निर्देशनमा हात हाल्न लागेका हुन् ।
कान्तिपुर फिल्म एकेडेमीका सिईओ प्रकाश पुरीले तयार पारेका कथामा आधारित यो फिल्मको छायाँकन भदौको पहिलो साताबाट सुरु हुने बताइएको छ । यो फिल्ममा विजय लामा, सरिता लामिछाने, रेवती क्षेत्री, कुसुम गुरुङ, रेविका गरुङ, अनिल कँडेल, संजोग रसाइँली, बालकलाकार उनभ श्रेष्ठ र सम्पन्न ढकालको अभिनय रहने छ ।
सहायक भूमिकामा पवन भट्टराई, श्यामसुन्दर घिताल, उत्तम राई, गौरव मल्लको अभिनय रहने कार्यक्रममा जानकारी गराइयो । साथै, फिल्ममा कान्तिपुर फिल्म एकेडेमीमा अध्ययन गरेका तथा प्रशिक्षण लिएका विद्यार्थीको पनि अभिनय रहने भएको छ ।
तेञ्जिन पाल्देनले खिच्ने उक्त फिल्म ‘म’मा जितेन लेप्चाको गीत, किरण भुषालको संगीत हुनेछ । ‘म’का लेखक प्रकाश पुरीले विद्यार्थीलाई हौसला प्रदान गर्न एकेडेमीले फिल्म निर्माण गर्न लागेको बताए ।
फिल्म ‘म’लाई केही पृथक बनाउने प्रयास आफ्नो रहने निर्देशक सेनको भनाइ छ । अभिनेत्रीद्वय कुसुम र रेविकाले आफूले अध्ययन गरेको एकेडेमीले निर्माण गर्न लागेको फिल्ममा अभिनय गर्नका लागि निकै उत्साहित रहेको सुनाए ।

Comments