‘मिस्टर वल्र्ड’मा प्रतिनिधित्व गर्दै अक्षय
screennepal
प्रकाशित: २०७६, १७ श्रावण शुक्रबार
no img

फिलिपिन्सको मनिलामा यही २३ अगष्टमा आयोजना हुने ‘मिस्टर वल्र्ड–२०१९’मा नेपालको प्रतिनिधित्व अक्षय रायमाझीले गर्ने भएका छन् । ‘मिस्टर नेपाल–२०१७’का बिजेता रायमाझी नेपाली कलासंस्कृतिसहित उक्त कार्यक्रममा सहभागी हुन लागेका हुन् ।
मिस्टर नेपाल आयोजक संस्था एक्सपोज नेपालले राजधानीमा एक कार्यक्रमबीच अक्षयको ‘मिस्टर वल्र्ड–२०१९’ सहभागिताबारे जानकारी गराएको हो ।
बिश्वका एक सयभन्दा बढी राष्ट्रका युवाको सहभागिता रहने प्रतियोगितामा अक्षय नेपालका एक्लो सहभागी हुन् । नेपाली कलासंस्कृतिले भरिएको नाच प्रस्तुत गर्दै ‘भिजिट नेपाल–२०२०’ को सन्देशसमेत बिश्वमा प्रवाह गर्ने कार्यक्रम रहेको अक्षयले बताए ।
‘मैले नेपाल र नेपालको बिषेशतः झल्कने एक भिडियोसमेत तयार गरेको छु । जुन ‘मिस्टर वल्ड’को मन्चमा प्रस्तुत हुनेछ’ अक्षयले भने, ‘भिडियोमा आफ्नो समाजसेवा, अन्य काम देखि नेपाल चिनाउने सगरमाथा, गौतमबुद्ध लगायतका बिषयबस्तु अटाएको छ ।’ आफुले बनाएको भिडियोले बिश्वका सहभागीलाई नेपालबारे बुझ्न सजिलो हुने उनले कार्यक्रममा खुलाए ।
अक्षय ‘मिस्टर वल्र्ड’मा नेपालको प्रतिनिधित्व गर्ने दोस्रो ब्यक्ति हुन् । यस अगाडि ‘मिस्टर वल्ड–२०१६’मा गणेश अग्रवालले सहभागिता जनाएका थिए ।
कार्यक्रममा एक्सपोज नेपालकी सिईयो अर्चना थापाले नयाँ ‘मिष्टर नेपाल–२०१९’को आवेदनसमेत खुल्ला भएको जानकारी दिइन् । युवाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धी, क्षमता उजागरलगायत नेतृत्वदायी क्षमता विकास गर्ने उदेश्यले एक्सपोज नेपालले सन् २००१बाट नियमित आयोजना गर्दै आएको यो प्रतियोगितामा सहभागीताका लागि १६ देखि ३५ बर्ष ननाघेका युवाहरुले आवेदन दिन सक्नेछन् ।

Comments