लिटिल एशिया प्यासिफिक प्रिन्सेस कृष्टिना खड्कालाई सम्मान
screennepal
प्रकाशित: २०७६, ५ श्रावण आईतवार
no img

५ साउन, काठमाडौं । सिंगापुरमा आयोजित लिटिल एशिया प्यासिफिक प्रिन्सेसकी विजेता कृष्टिना खड्कालाई राजधानीमा एक कार्यक्रमबीच सम्मान गरिएको छ । होटल अन्नपूर्णमा शनिबार आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले उनलाई सम्मान गरेका हुन् ।

लाइट हाउस फाउण्डेसन नेपालको आयोजना तथा हिमालयन नेपाली इभेन्ट म्यानेजमेन्टको इभेन्ट व्यवस्थापनमा कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री यादवले कृष्टिनाले भविष्यमा पनि नेपाल र नेपालीको नाम विश्वमाझ फैलाउने विश्वास व्यक्त गरे ।
कार्यक्रमका विशेष अतिथि केन्द्रीय बालकल्याण समितीका पूर्वअध्यक्ष डिल्ली गिरीले यस्ता कार्यक्रमले बालबालिकाको ब्यक्तित्व विकासमा टेवा मिल्ने धारणा राखे ।

लाईट हाउस नेपालले विशेषगरी वादी समुदायका किशोरीहरुलाई संरक्षण गरी नेपाल तथा विदेशमा समेत पठनपाठनको व्यवस्था मिलाउँदै आएको छ । हाल करिव ६ सयको हाराहारीमा किशोरीहरुले यस संस्थाबाट संरक्षण तथा शिक्षा पाइरहेका छन् ।

कृष्टिना खड्काले गत जुन ३० तारिकमा सिंगापुरमा सम्पन्न लिटिल एशिया प्यासिफिक प्रिन्सेस् २०१९ को उपाधि जितेकी थिइन् । हाल उनी सिङ्गापुरमै अध्ययनरत छिन् ।

उनको लक्ष्य समाजसेवामा लाग्ने रहेको छ । उनलाई लाइट हाउस नेपालले आफ्नो सद्भावनादूतसमेत बनाएको छ । ११ वर्षको कलिलो उमेरमै उनले थुप्रै अवार्ड जित्न सफल भएकी छन् ।

Comments