थाइल्याण्डको समुन्द्री किनारमा आयुष्मान-शिल्पाको रोमान्स
screennepal
प्रकाशित: २०७६, १३ जेष्ठ सोमबार
no img

नेपाली फिल्म ‘सानो मन’को टोली यतिबेला थाइल्याण्डको राजधानी बैंककमा छन् । सो फिल्मको शिर्ष गीतसहित केही दृश्यको अहिले त्यहाँ छायाँकन भइरहेको छ ।
यो फिल्मको युनिट यसै साता त्यहाँ गएको हो । फिल्मको शिर्ष गीत सानो मनको आधाभन्दा बढी थाइल्याण्डको पर्यटकीय बजार पटाया र आसपासमा छायाँकन गरिएको छ ।
फिल्मका निर्माता राजेन्द्र मानन्धरका अनुसार पटायाको समुन्द्री किनारमा गीतको छायाँकन गरिएको छ । गीतमा फिल्मका अभिनेता आयुष्मान देसराज जोशी र अभिनेत्री शिल्पा मास्क रोमान्टिक मुद्रामा देखिएका छन् । त्यहाँ प्रेम रोमान्सको दृश्य छायांकन गरिएको थियो ।
यो गीतलाई निर्देशक सुयोग गुरुङले कोरियोग्राफी गरिरहेका छन् । हालैमात्र छायाँकन स्थलबाट निर्माणपक्षले केही तस्बिर सार्वजनिक गरेका थिए । रोहितजोन क्षेत्रीको स्वर रहेको उक्त गीतमा स्वप्निल शर्माको शब्द तथा सुयोग सोताङको संगीत छ ।

पटायाको छायाँकन सकेर सानो मन युनिट यतिबेला बैंकक पुगेको हो । सोमबारदेखि बैंककका विभिन्न रमणीय स्थानहरुमा बाँकी छायाँकन सुरु गरिएको पनि निर्माता मानन्धरले जानकारी गराए । गीतको बाँकी छायाँकन पछि फिल्मका थप दृश्यहरु सकेर आफुहरु १५ जेठमा काठमाडौं फर्कने मानन्धरले जानकारी गराए ।
यो फिल्मको छायाँकन आलोक शुक्लाले गरिरहेका छन् । बर्मेली नेपालीको सहयोगमा आफुहरुले त्यहाँ छायाँकन गर्न सफल भएको निर्माता मानन्धरले बताए ।
निर्देशक सुयोगलाई त्यहाँ मुख्य सहायक निर्देशक रितसिंह बोहराले सघाइरहेको छन् । फिल्ममा समिर सुनुवार र निर्देशक गुरुङको कथा रहेको छ । ओपिजी फिल्मस्, ए प्लस इन्टरट्रेनमेन्ट र हाईटेक ईन्टरट्रेनमेन्टको व्यानरमा बनेको यस फिल्मलाई राजेन्द्र मानन्धर, सरद श्रेष्ठ, योगेश गुरुङ, राजिव श्रेष्ठ र रमेश कुमार मित्तलले लगानी गरेका छन् ।

Comments