म्याग्दीकी देवी मगरले कारसहित जितिन् ‘मिस नेशनल आइकन’ उपाधि
screennepal
प्रकाशित: २०७६, १६ बैशाख सोमबार
no img

‘मिस नेशनल आइकन–२०१९’को उपाधि देवी मगरले जितेकी छन् । म्याग्दीकी २२ वर्षीया मगरले शीर्ष उपाधिसहित ‘ड्याट्सन कार’ प्राप्त गरेकी छन् ।
जमलस्थित राष्ट्रिय नाचघरको स्टेजमै शीरमा ताजसहित कार प्राप्त गर्दा उनलाई विश्वास नै लागेन । कार्यक्रम प्रस्तोताले उपाधि जितेको दोहो¥याएपछि खुसीको आँशु खसाल्दै उनले भनिन्, ‘साँच्चीकै मैले जितेको हुँ ।’ आफ्ना १२ प्रतिस्पर्धीलाई पछि पादै स्नातक तेस्रो वर्षमा अध्ययनरत देवी मगरले यस वर्षको ‘मिस नेशनल आइकन’को उपाधि हासिल गरेकी हुन् ।

ब्राइट इन्टरटेनमेन्ट प्रालिद्वारा आइतबार आयोजित ‘मिस नेशनल आइकन’को यस दोस्रो संस्करण फस्ट रनरअप मञ्जना राई र सेकेण्ड रनरअप समृद्धि कार्की भए । उनीहरुले क्रमशः ताजसहित टिभिएस स्कुटी र नगद ५० हजार प्राप्त गरे ।
त्यस्तै प्रतियोगितामा मुना राई थर्ड रनरअप भइन् । उनले पनि ताजसहित नगद २० हजार प्राप्त गरिन् । सबै विजेतालाई पुरस्कार स्टेजमै हस्तान्तरण गरिएको थियो ।
प्रतियोगिताको निर्णायकमा हेरिटेज कार्पेटका अध्यक्ष डा. माधव मल्ल, सौन्दर्यविद् डा. नवल पजियार, ड्याट्सनका जनरल मेनेजर ज्ञानेन्द्र चन्द, उमेश गुरुङ, सञ्चारकर्मी बेञ्जु सरोज थिए ।
राजधानीमा आयोजना हुँदै आएको सबैभन्दा बढी धनराशी पुरस्कार भएको सौन्दर्य प्रतियोगिताका रुपमा चिनिएको ‘मिस नेशनल आइकन’ले सुरुदेखि नै विजेतालाई कार पुरस्कार प्रदान गर्दै आएको छ ।

सौन्दर्य प्रतियोगिताको गरिमा र इज्ज्वत बढाउन विजेतालाई कार, स्कुटी र नगद पुरस्कार प्रदान गर्दै आएको आयोजक संस्थाका अध्यक्ष तथा गायक धनीराम राईले बताए । उनले भने, ‘हामीले सुरुदेखि नै विजेतालाई कार, स्कुटी र नगद स्टेजमै दिन्छौँ । जसले सौन्दर्य प्रतियोगिताप्रति गुम्दै गएको विश्वास जगाउने अपेक्षा गरेका छौँ ।’

रोजिन शाक्यको कोरियोग्राफीमा आयोजित प्रतियोगिताको इभेन्ट मेनेजमेन्टको जिम्मेवारी सोनाम राई, मनुकुमारी लिङ्देन र जीवनजीत राईले बहन गरेका थिए । पुर्वमन्त्री तथा नेपाली कांग्रेसका प्रतिनिधी सभा सदस्य डा. नारायण खड्काको प्रमुख आथित्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

Comments