हुरीको वितण्डा : मृत्यु हुनेको संख्या २९ पुग्यो
screennepal
प्रकाशित: २०७५, १८ चैत्र सोमबार
no img

असिनापानीसँगै आइतबार साँझ आएको हावाहुरीबाट मर्नेको संख्या २९ पुगेको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार हावाहुरीबाट ४०० जनाभन्दा बढी घाइते भएका छन् ।
बाराको फेटा गाउँपालिका–१, ३, ६ र ७ मा सबभन्दा बढी धनजनको क्षति भएको छ । फेटा गाउँपालिका–७ पुरैनियामा हावाहुरीबाट घर र रूख ढल्दा च्यापिएर १४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । भलुहीमा रामसुरत दासकी पत्नी माहेश्वरीको मृत्यु भएको छ । सो ठाउँमा हावाहुरीबाट एक सयभन्दा बढी घरमा क्षति पुगेको छ ।
मृत्यु हुनेमा फेटा गाउँपालिका–७ पुरैनियाँका दुई वर्षीया अलिशा खातुन, १८ वर्षीया शवनम खातुन, २९ वर्षीया सकिया खातुन, ९ वर्षीया रुकसार खातुन, ११ वर्षीया समसिदा खातुन, ५५ वर्षीया मीना खातुन, २५ वर्षीया विशिया खातुन र ५० वर्षीय तैयर खातुन रहेका छन । अन्यको सनाखत हसन नसकेको प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए ।
यसैगरी कलैया–१२ धर्मनगरस्थित काजल इँट्टाभट्टामा कार्यरत चार भारतीय मजदूरको मृत्यु भएको छ । हावाहुरीले फेटा गाउँपालिकाको भरवलिया टोलमा विद्युत्को खम्बा ढलेर चार जनाको मृत्यु भएको छ । जिल्लाको तेलकुवा, सुवर्णपुर, प्रसौनी, भलुही, पशुरामपुर, हर्दिया लगायतका ठाउँमा समेत मानवीय क्षति भएको प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले बताउनुभयो । घाइतेको नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले उद्धार गरी कलैया, वीरगञ्जलगायत अस्पताल भर्ना गरेका थिए ।
कलैया अस्पतालमा उपचार गराइरहेका ४० घाइतेको प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं जनसंख्या तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापालगायतले स्थलगत निरीक्षण गरी घाइतेको अवस्थाबारे जानकारी लिएका थिए
यसैगरी नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कलैया अस्पतालमा उपचार गराइरहेका घाइतेको अवस्थाबारे जानकारी लिएका थिए । हावाहुरीबाट पर्साको हरवलियामा वहिदा देवीको मृत्यु भएको छ भने हेटौँडाबाट वीरगञ्जतर्फ आइरहेको ना६ख ९३६० नंको बसमा बिजुलीको खम्बा खस्दा वीरगञ्ज महानगरपालिका–१२ का १८ वर्षीय सरोज रामको मृत्यु भएको थियो । हावाहुरीबाट ग्रामीण क्षेत्रमा अत्यधिक क्षति भएको छ । क्षतिको विवरण संकलन गर्ने कार्य जारी छ ।


बाराको फेटा गाउँपालिका–१, ३, ६ र ७ मा भएको धनजनको क्षतिबारे जानकारी लिन प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत लगायतका मन्त्रीले सो ठाउँको स्थलगत निरीक्षण गरेका थिए । असिनाले बालीनालीमा क्षति पुगेको छ । टेलिफोन लाइन र विजुलीका खम्बा ढलेका छन् । हावाहुरीले घरको छाना उडाएपछि पीडित रूखमुनि पाल टाँगेर बसेका छन् ।
यसैबीच सोमबार प्रधानमन्त्री केपी शर्मा ओली हावाहुरी प्रभावित क्षेत्रको निरीक्षण गरेका छन् । झापाको कार्यक्रम रद्द गरेर प्रधानमन्त्री सोमबार अपराह्न बारा र पर्साका हावाहुरी प्रभावित क्षेत्रको निरीक्षणमा भद्रपुरबाट सिमरा विमानस्थल ह“ुदै गएका हुन् ।
निरीक्षणका क्रममा प्रधानमन्त्री ओलीले राहत र उद्धारमा कुनै समस्या हुन नदिन निर्देशन दिएको प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । प्रधानमन्त्रीले कलैयास्थित अस्पतालमा पुगेर घाइतेको अवस्थाबारे पनि जानकारी लिएका छन् । प्रधानमन्त्री ओलीलाई प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले घटनाका बारेमा जानकारी दिएका थिए । आइतबार राति पौने ८ बजेदेखि सवा ८ बजेसम्म गएको हावाहुरीले अहिलेसम्म २७ जनाको निधन भएको प्रमुख जिल्ला अधिकारीले जानकारी दिए ।
हावाहुरीले कलैया उपमहानगरपालिकासहित महागढीमाई र पचरौता नगरपालिका तथा प्रसौनी, फेटा, सुवर्ण र परवानीपुर गाउ“पालिकामा धनजनको क्षति भएको छ ।

Comments