द्वन्द्वपीडित बालबालिकाका लागि बेलायतमा मिलनको च्यारिटी शो
screennepal
प्रकाशित: २०७५, ११ चैत्र सोमबार
no img

काठमाडौं, ११ चैत । नेपाली सांगीतिक क्षेत्रकी चर्चित गायिका मिलन नेवारले बेलायतको युकेबाट च्यारिटी शो सुरु गर्दैछिन् । उनी बेलायतको विभिन्न स्थानमा हुने च्यारिटी शोहरुमा प्रस्तुत हुन लागेकी छन् ।
हालैमात्र ‘मिलन च्यारिटी फाउण्डेशन नेपाल’ नामक सामाजिक संस्था स्थापना गरेर आफूलाई गायनसँगै सामाजिक सेवामा औपचारिक रुपमा सक्रिय गराएकी गायिका मिलनसँगै पछिल्लो समय चर्चामा रहेका गायक तथा संगीतर राजनराज शिवाकोटी पनि उक्त च्यारिटीमा प्रस्तुत हुँदैछन् ।


‘मिरा सांगीतिक साँझ’ नाम दिइएको उक्त च्यारिटी साँझ सुनसरीको इटहरीस्थित सहिद स्मृति आवासीय माध्यमिक विद्यालयमा अध्ययनरत द्वन्द्वपीडित बालबालिकाहरुको सहयोगार्थ गर्न लागिएको हो ।
कार्यक्रम यही आउँदो ३० मार्चमा बेलायतको द प्लेस–३५ स्टेसन रोड, ३१ मार्चमा गोल्डेन सिप ५०० नर्थहल्ट रोड, ६ अप्रिलमा एसफोर्ड र ७ अप्रिलमा द वेयर हाउस सेन्चुरी जक्सन रिडिङ रोडमा हुन लागेको उक्त च्यारिटी शो मिलन च्यारेटी फाउन्डेसन नेपाल, अग्रगामी समूह बेलायत र आदिवासी चलचित्र महासंघ बेलायतले संयुक्त आयोजनामा गर्न लागेको हो ।
२०६६ सालमा स्थापना भइ इटहरीको भवानीपुरमा सञ्चालन रहेको उक्त सहिद स्मृति आवासीय माध्यमिक विद्यालयमा सहिद तथा बेपत्ता परिवारका ४ सय असहाय विद्यार्थीले शिक्षा पाइरहेका छन् । उक्त विद्यालयको मिलन र राजनराज सद्भावना दूत पनि हुन् ।
हालैमात्र गायिका मिलनले ‘मिलन यात्रा’ एल्बम सार्वजनिक गरेकी थिइन् । त्यसपछि विभिन्न स्टेज कार्यक्रममा व्यस्त हुँदै आएकी मिलनले उक्त कार्यक्रममा उपस्थित हुन बेलायतबासी नेपालीसँग आग्रह गरेकी छन् । ‘पहिलो पाइला ३० मार्चबाट सुरु गर्न लागेका छौँ’, मिलनले आग्रह गरेकी छन्, ‘सबै आदरणीय दर्शक तथा श्रोतामा उपस्थितिका लागि अनुरोध गर्दछु ।’
उक्त च्यारिटी साँझमार्फत उठेको रकमबाट विद्यालयलाई अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने, सीमान्तकृत, अल्पसंख्य तथा बहिष्करणमा पारिएका समुदायका बालबालिकालाई शैक्षिक अवसर प्रदान गर्नेलगायतका काम गर्ने उद्देश्य राखिएको आजोजकले जनाएको छ ।
कार्यक्रममा मिलनले गाला रातै, बट स्लोली, जहिलेसम्म संसारमा, सिरिमा सिरिलगायतका आफ्ना चर्चित गीत गीतहरु प्रस्तुत गर्ने भएकी छन् । त्यस्तै राजनराजले कुटुमा कुटु, सुर्के थैली, पुर्व–पश्चिम रेल, गोजीमा दाम छैन जस्ता चर्चित गीतहरु प्रस्तुत गर्ने भएका छन् ।

Comments