‘क्याप्टेन’ हेरेपछि प्रधानमन्त्रीले भने, ‘फिल्म राम्रो छ’ | Screennepal

‘क्याप्टेन’ हेरेपछि प्रधानमन्त्रीले भने, ‘फिल्म राम्रो छ’

पछिल्लो केही दिनयता नेपालको राजनीतिबृत्तमा उताव–चढाव देखिएको छ । सरकारले ‘स्वतन्न्त्र मधेश’ आन्दोलनका नायक सिके राउतलाई ‘इन’ र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई ‘आउट’ अर्थात प्रतिबन्ध गरेस“गै नेपाली राजनीति बृत्तमा एक किसिमको तरंग उत्पन्न भएको हो ।
यसैबेला प्रधानमन्त्री केपी शर्मा ओली ‘माइण्ड फ्रेश’ गर्न नेपाली फिल्म हेर्न सिनेमा हल पुगेका छन् । बुधबार साँझ प्रधानमन्त्री ओलीले नेपाली फिल्म ‘क्याप्टेन’ हेरेका छन् । राजधानीको कमलपोखरीस्थित सिटी सेन्टरमा पुगेर प्रधानमन्त्री ओलीले ‘क्याप्टेन’ हेरेका हुन् ।
नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली बुबा मोहनप्रसाद, पत्नी राधिका शाक्य, नेकपा महासचिव विष्णु पौडेललगायत नेताका साथमा सिटी सेन्टर पुगेका थिए । फिल्म हेरेपछि प्रधानमन्त्री ओलीले ‘आफूलाई फिल्म मनपरको’ बताएको फिल्म युनिटका एक सदस्यले बताए । उनले भने, ‘प्रधानमन्त्रीज्युले फिल्म राम्रो लागेको बताउनुभयो ।’
‘क्याप्टेन’ अनमोल केसी अभिनीत फिल्म हो । दिवाकर भट्टराईले निर्देशन गरेको यस फिल्ममा अनमोलको साथमा अभिनेत्रीद्वय उपासना सिंह ठकुरी र प्रियंका एमभी, सुनिल थापा, सरोज खनाल, विल्सनविक्रम राई, राजाराम पौडेल, बुद्धि तामाङलगायत कलाकारले अभिनय गरेका छन् ।
स्रोतका अनुसार प्रधानमन्त्री ओली अभिनेता तथा ‘क्याप्टेन’ का निर्माता भुवन केसीको विशेष आग्रहमा फिल्म हेर्न हलमा पुगेका हुन् । फुटबलको विषयवस्तु समेटिएको यस फिल्मलाई युवा पुस्ताले निकै रुचाएका छन् । पछिल्लो समय अनमोल नेपाली फिल्म क्षेत्रमा स्टारका रुपमा गनि“दै आएका छन् ।



Facebook Comment