हङकङ र कोरियापछि काठमाडौंमा ‘केःसाङ्ला’को च्यारिटी हुँदै
screennepal
प्रकाशित: २०७५, ३० फाल्गुन बिहीबार
no img

लिम्बू संस्कृति तथा परम्परागत रहन–सहनमा आधारित रहेर निर्माण गरिएको फिल्म ‘केःसाङ्ला’को आउँदो २१ बैशाखमा च्यारिटी शो हुने भएको छ ।
राजधानीको बिग मूमिजमा हुने उक्त च्यारिटी शोबाट संकलितमध्ये केही रकम झापाका दुवै मिगौलापीडित निर्मल लिम्बू (पियाक)लाई उपचारका लागि सहयोग गरिने जनाइएको छ ।
म्युजिक भिडियो निर्देशनबाट चर्चामा आएका लोकेन साँवा लिम्बू निर्देशित यो फिल्मको यसअघि हङकङ र दक्षिण कोरियामा प्रिमियर शो भइसकेको छ । जहाँ दर्शकले फिल्म रुचाएका थिए । हालैमात्र यो फिल्म मोरङको मिक्लाजुङमा पनि च्यारिटी शो गरिएको थियो । लिम्बूहरुको कला र सांस्कृृतिक पहिचान बोकेको ‘केः’ च्याब्रुङसँग जोडिएको फिल्म ‘केःसाङ्ला’मा भीम तुम्बाहाङ्फे, लक्ष्मी योङ्हाङ लिम्बू, विशाल सेनेहाङ लिम्बू, यामनिङ्वा योङ्हाङ लिम्बू, मेनुका साउदेन लिम्बू, महिमा लिम्बू, कुमार सुब्बा लुम्फुङ्वा, दिनेश माङ्मु गगा तुम्बाहाङ्फे लिम्बूलगायतको अभिनय रहेको छ ।
भूपेन्द्र तुम्बाहाङ्फेको छायांकन, यासेली योङ्हाङ लिम्बू, लोकेन साम्बा र हर्कबहादुर योङहाङ लिम्बूको गीत रहेको ‘केःसाङ्ला’का लागि संगीत अशोक लोहोरुङ राईले गरेका छन् ।
सञ्चारकर्मी देबेन्द्र खापुङको पटकथा रहेको यस फिल्मको गीतमा श्रेयशी चेम्जोङ, मनु नेम्बाङ, असली वनेम, यासेली योङहाङ, निर्मल सुब्बा आशिष, लक्ष्मी योङहाङ, भीम तुम्बाहाङ्फे र देशु सुहाङले स्वर दिएका छन् ।
यस फिल्मलाई फिपरानी तुम्बाहाङ्फे, बिष्णुकुमार पन्धाक, भीमकुमार तुम्बाहाङ्फे र सञ्जय तुम्बाहाङ्फेले संयुक्तरुपमा निर्माण गरेका हुन् । फिल्ममा निर्देशक लोकेनकै कथा रहेको छ ।

Comments