पाटनमा देखिए गुल्सन ग्रोबर |भने, ‘नेपालीको सोझोपना मलाई मनपर्छ’ | Screennepal

पाटनमा देखिए गुल्सन ग्रोबर |भने, ‘नेपालीको सोझोपना मलाई मनपर्छ’

गुल्सन ग्रोबर, हिन्दी फिल्मका नियमित दर्शकले यो नाम पक्कै सुनेको हुनुपर्छ । गुल्सन बलिउडका चर्चित खलपात्र अर्थात अभिनेता हुन् । ‘आग कि सोले’ होस् वा पछिल्लो ‘हेट स्टोरी–४’ फिल्म हेरेका दर्शकले गुल्सनलाई मनैमा राखेको हुनुपर्छ । यिनै बलिउडका प्रख्यात अभिनेता गुल्सन बुधबार काठमाडौं आइपुगेका छन् ।
उनले बुधबार नै एक कार्यक्रममा सहभागी हुन भ्याए । बुधबार साँझ पाटन दरबार स्क्वायर परिसरमा फिल्म ‘द म्यान फ्रम काठमाडौं’को प्रमोसन कार्यक्रमको क्रममा सहभागी भएका गुल्सनले भने, ‘यो मेरो तेस्रो नेपाल भ्रमण हो ।’ उनले नेपाल आउँदा मनै आनन्दित हुने बताए ।
नेपाल, नेपाली र यहाँको संस्कृतिप्रति नतमस्तक देखिएका उनले भने, ‘नेपालको खाना मलाई निकै मनपर्छ । उनले नेपालीको निर्दाेषपना र सोझोपन आफुलाई प्रिय लाग्ने सुनाए । ‘म पहिलोपटक मेरो साथी अभिनेत्री मनिषा कोइरालासँग नेपाल आएको थिएँ’ उनले भने ‘दोस्रोपटक ‘द म्यान फ्रम काठमाडौं’ सुटिङमा आए । अहिले यही फिल्मको प्रमोशनमा आएको छु ।’

हरियो कोटमा हरियै टिसर्ट र जिन्स पाइटमा सजिएका गुल्सनले फिल्मको हिरोइन आना शर्माको सौदर्यको वर्णन गरे । उनले आफ्ना केही हिन्दी फिल्मका चर्चित डाइलग सुनाएर दर्शकलाई मोहित पारेका थिए ।
कार्यक्रममा फिल्मका कलाकार जोसे म्यानुअल, आना शर्मा, शिशिर बाङ्देल, निर्देशक पेमा धोन्डुप र निर्माता नक्किन उपस्थित थिए । फिल्म ‘द म्यान फ्रम काठमाडौं’ नेपालमा बनेको पहिलो अंग्रेजी फिल्म हो । दुई दिने नेपाल भ्रमणमा आएका गुल्सन बिहीबार साँझ हुने फिल्मको प्रिमियरमा सहभागी भएरु शुक्रबार भारत फर्किने कार्यक्रम छ ।



Facebook Comment