साँस्कृतिक कार्यक्रम गरी क्यान्सरपीडित पुलामीलाई सहयोग
screennepal
प्रकाशित: २०७५, २९ फाल्गुन बुधबार
no img

एकैसाथ क्यान्सर, मुटु तथा मृगौली रोगबाट पीडित भएपछि बाँच्नलाई कति सकस होला ? सोच्नै नसक्ने पीडा हो यो । यस्तै पीडामा जीवनसँग संघर्ष गरिरहेका छन् बसन्त पुलामी मगर । शारीरिक अपांगतासमेत रहेका क्यान्सर तथा मुटु रोग पीडित वसन्तलाई केही मनकारी कलाकारहरुले सांस्कृतिक कार्यक्रम गरी उपचारका लागि ७९,९४० रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन् ।
ग्रिन इन्टरनेशनल क्लवद्वारा आयोजित सांस्कृतिक कार्यक्रमबाट संकलित रकममध्ये कार्यक्रम खर्च कटाएर उक्त रकम वसन्तलाई प्रदान गरिएको हो । ‘सबैले सहयोग गरौँ, वसन्त पुलामी मगरलाई बचाऔँ’ भन्ने नारासहित केही दिनअघि ललितपुरको नखिपोटमा आयोजित कार्यक्रममा दिपक लिम्बू, ताराप्रकाश लिम्बू, भिम लिम्बू, दीपा लामा, विनोद खम्बुजस्ता चर्चित गायक÷गायिकाले आफ्नो प्रस्तुती दिएका थिए ।


साथै, कार्यक्रममा हास्य कलाकार उमेश राई ‘फुलेक्देकी आमा’, रश्मि राई उज्वल थेबे, राज लाबुङ, विशाल लिम्बू, रिता राई, बालकलाकार मनिष लिम्बू र सुहाङ लिम्बूले पनि आफ्नो प्रस्तुती दिएका थिए । मोडल तथा अभिनेत्री बबिता फोम्बोले सञ्चालन गरेको कार्यक्रममा नेपाली फिल्ममा चर्चित अभिनेता सुनिल थापा पनि सहभागी थिए ।
आयोजक संस्थाकी अध्यक्ष सुलोचना गुरुङका अन्ुसार उक्त कार्यक्रममा एक लाख २८ हजार संकलन भएको थियो । त्यसमध्ये ४३ हजार खर्च भएको थियो भने राज लाबुङलाई ५ हजार फिर्ता गरिएको थियो । बाँकी बचेको पुरै रकम पीडित वसन्तलाई हस्तान्तरण गरिएको हो । हाल जीवन र मृत्युसँग जुधिरहेका वसन्तलाई मानवताका रुपमा सहयोग गर्न चाहनले सम्पर्क गर्न सक्नेछन् ।

Comments