ठूलीको ‘निङ्वासुम’ सार्वजनिक
screennepal
प्रकाशित: २०७५, २ माघ बुधबार
no img

गीतकार रीता फोम्बो ‘ठूली’को लघुचलचित्र ‘निङ्वासुम’ सार्वजनिक भएको छ । लामो समयदेखि बेलायत बस्दै आएकी रीताको उक्त लिम्बू भाषाको लघुचलचित्रलाई राजधानीमा एक समारोहबीच नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति तथा बरिष्ठ कवि बैरागी काइँलाले सार्वजनिक गरेका थिए ।
‘निङ्वासुम’ अर्थात ‘सम्झना’को सार्वजनिक गर्दै कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका कवि काइँलाले भाषा साहित्य नरहे संस्कृति र सभ्यता पनि नरहने बताए । उनले भने, ‘ग्लोबलाइजेसनले भाषा संस्कृतिलाई आक्रमण गरिरहेको बेलामा यी साना नानीहरू गायन र अभिनयले गौरव बढाएको छ ।’


सुर्य खापुङको प्रस्तुती रहेको ‘निङ्वासुम’का गीतहरुको भिडियोलाई लोकेन साँवा लिम्बूले निर्देशन गरेका हुन् । सार्वजनिक लघुचलचित्र ‘निङ्वासुम’मा पछिल्लो समय चर्चामा आएका बालगायक मनिष लिम्बू, बालगायिका माङ्गेना लिम्बूलगायतको स्वर तथा अभिनय रहेको छ । अशोक लोहोरुङ राईको म्युजिक एरेन्जर र सुहाङ लावतीको संगीत रहेको उक्त लघुचलचित्रमा बालकलाकारद्वय मनिष र माङगेनाका अलावा दिप केरुङ, पुष्पाञ्जली तिलिङलगायतको पनि अभिनय रहेको छ ।
कार्यक्रममा निर्देशन साँवाले पछिल्लो समय लोप हुँदै गएको भाषा संस्कृतिलाई जर्गेना गर्न तथा भविष्यमा हुने सम्भावनालाई मध्यनजर गरेर बनाइएको बताए । काङसोरे मिडियाले आयोजना गरिएको सोही कार्यक्रममा लिम्बू भाषाविद् यासेली योङहाङले सार्वजनिक लघुचलचित्रको समीक्षा गर्दै लिम्बू सांस्कृतिक दृष्टिकोणले भिडियो र शब्द चयन अब्बल रहेको बताए ।

Comments