सांगीतिक अभियान समापन
screennepal
प्रकाशित: २०७५, २२ पुष आईतवार
no img

काठमाडौं । सात एल्बम लोकार्पण, साहित्यिक तथा सांगीतिक विमर्श अभियान सम्पन्न भएको छ । पद्मदीप स्मृति प्रतिष्ठान काठमाडौंको मुख्य आयोजना र जिल्लास्तरमा भएका साहित्यिक तथा सांगीतिक संघसंस्थासँगको सहकार्यमा अभियान सञ्चालन गरिएको थियो ।
राजधानीमा आइतबार पत्रकार भेटघाट गर्दै विमर्श अभियानका बारेमा गीतकार डा. डीआर उपाध्यय, प्रतिष्ठानका अध्यक्ष वरिष्ठ गायक तथा गीतकार सुरेश घिमिरे, सङ्गीतकार सन्तोष श्रेष्ठ र सागर अधिकारी ‘सरद’ले समापन भएको र अभियानका बारेमा विस्तृत जानकारी गराए ।
एकै दिनमा एकै गीतकारका सातवटा गीति एल्बम सांगीतिक इतिहासमा पहिलोपटक रेकर्ड भएका कारण गीतको प्रदेशस्तरमा पनि लोकार्पण र समीक्षा तथा जिल्लास्तरको साहित्य अनि संगीतको बारेमा छलफल गर्न अभियान चलाइएको प्रतिष्ठानका अध्यक्ष घिमिरेले बताए ।
२४ मंसिरदेखि २४ गतेसम्म पूर्वी नेपालमा अभियान चलाइएको थियो । जसअन्तर्गत सिन्धुली, धनकुटा, इटहरी, विराटनगर, इलाम, विर्तामोड, दमक, बर्दिबास र हेटौँडामा कार्यक्रम भएको थियो ।
दोस्रो चरणको साहित्यिक तथा सांगीतिक विमर्स अभियान १० पुसदेखि १६ गतेसम्म पश्चिम नेपालमा चलेको थियो । चितवनबाट सुरु भएको अभियान बुटवल, दाङको घोराही, तुलसीपुर, बाँकेको कोहलपुर, सुर्खेत, धनगढी, कञ्चनपुर, पोखरा हुँदै गोरखामा पुगेर सकिएको थियो ।
देशका विभिन्न ठाउँहरुमा आफूहरु पुग्दा त्यस क्षेत्रको साहित्य कला र संस्कृतिका बारेमा अझ बढी प्रष्ट हुन सकेको र धेरै बुझ्ने र जान्ने अवसर मिलेको डा. गीतकारले आजको पत्रकार भेटघाटमा बताए । मोफसलमा पनि राम्रा राम्रा प्रतिभा लुकेर बसेको आफूले ति ति स्थानहरुमा पुग्दा पाएको शुरेश घिमिरेल बताए । उनले भने– ‘झन्डै एक हजार साहित्यकार, सरोकारवाला निकायका प्रतिनिधि र साहित्य, सङ्गीत प्रेमीसँग अभियानका क्रममा साक्षात्कार गरियो ।’
पश्चिम नेपालमा चलेको अभियानको संयोजन तथा सञ्चालन सञ्चारकर्मी लिलप्रकाश चन्दले गरेका थिए । गीतकार डा. डीआर उपाध्यायले लेखेका गीतहरू छुट्टाछुट्टै सातवटा एल्बलमा सङ्गीतकार बुलु मुकारुङ, सन्तोष श्रेष्ठ र सागर अधिकारी ‘सरद’ ले सङ्गीत भरेका छन् भने देशका थुप्रै वरिष्ठ गायक÷गायिकाहरुले स्वर दिएका छन् । साहित्यकार तथा गीतकार डी.आर. उपाध्यायले केही समयअघि नेपाली एल्बम प्रकाशनमा एकैपटक सबैभन्दा धेरै एल्बम निकालेर नयाँ रेकर्ड राखेका हुन् ।
राष्ट्रकवि माधवप्रसाद घिमिरेको हातबाट एकैपटक सात एल्बम बिमोचन गरिएको थियो । उनका एक उपन्यास ‘दगाबाज’सहित एल्बम ‘जखम’, ‘माउन्टेन मेलोडी’, ‘नसालु नजर’, ‘जोहो’, ‘अन्तराप’, ‘प्रतिनाद’ र ‘सहेली’ विमोचन गरिएको थियो । उपाध्यायका यसअघि ‘अतिरिक्त’, ‘भाग्यचक्र’, ‘स्वार्थी’, ‘त्यागी’, ‘वज्राधात’, ‘अपवित्र छायाँ’ र ‘बिटुली’ जस्ता उपन्यास पाठकमाझ आइसकेका छन् भने गीत एल्बम ‘प्रणय’ उनको पहिलो एल्बम हो ।

Comments