कोरियन लुक्सका इशकको फिल्ममा डेब्यु
screennepal
प्रकाशित: २०७५, १९ पुष बिहीबार
no img

कोरियन लुक्सका कारण चर्चामा आएका गायक तथा मोडल इशक राईलाई अब फिल्मको पर्दामा देख्न पाइने भएको छ । नेपाली फिल्ममा चक्लेटी हिरोको जगजगी भइरहेका बेला कोरियन चक्लेटी लुक्सका इशक फिल्म ‘आरुसी’मार्फत नायकमा डेब्यु गर्दैछन् । जुन फिल्म अहिले छायांकनको अन्तिम चरणमा रहेको छ ।
निर्माता तथा निर्देशक उदय सुब्बाद्वारा निर्देशित फिल्म ‘आरुसी’ मा मुख्य नायकका रुपमा देखिन लागेका कोरियन स्टाइलका इशकले भने, ‘यो मेरो डेब्यु फिल्म हो, त्यसैले मिहिनेत गरिरहेको छ ।’ उनले फिल्म ‘आरुसी’बाट दर्शकको मन जित्न सक्ने समेत बताएका छन् ।
करिब १ करोडको लगानी रहने भनिएको फिल्म ‘आरुसी’मा इशकसँगै रमा लिम्बु, सुनिल थापा, सुरविर पण्डित, दमन रुपाखेतीलगायतका कलाकारको अभिनय रहेको छ । बिकाश चौधरी र ताराप्रकाश लिम्बुको संगीत रहेको यस फिल्मका लागि गीत निर्देशक सुब्बाले नै लेखेका छन् ।
त्रिकोणात्मक प्रेमकथामा आधारित यस फिल्ममा साहारा प्रधान, बिरु गुरुङ र केशवकुमार श्रेष्ठको संयुक्त लगानी रहेको छ । यस फिल्मलाई झापा, इलाम, तिर्थुङ, ताप्लेजुङ र संखुवासभालगायत पुर्वको विभिन्न स्थानमा छायांकन गरिएको छ ।

Comments