‘मिस मंगोल’का विजेताद्वारा ५० लाखको छात्रवृति घोषणा
screennepal
प्रकाशित: २०७५, १८ मंसिर मंगलवार
no img

‘मिस मंगोल नेपाल’का विजेताले ५० लाख रुपैयाँको छात्रवृति कोष घोषणा गरेका छन् । राजधानीमा मंगलबार पत्रकार सम्मेलन गरी ‘मिस मंगोल नेपाल–२०१ड’की विजेता जाङमु शेर्पा, फस्ट रनरअप प्रीति गुरुङ र सेकेन्ड रनरअप पुनम सेर्पाले संयुक्त रुपमा अभियान घोषणा गरेका हुन् ।
पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार असहाय एवं आर्थिक अभावले विद्यालय जान नपाएका बालबालिकालाई कोषमार्फत छात्रवृति उपलब्ध गराइने छ । यो छात्रवृति राजधानी वा मोफसलमा अध्ययनरत विद्यार्थीलाई जुनसुकै कक्षाबाट एसईईसम्मका लागि दिइने छ ।


आर्थिक अभावले विद्यालय जान नपाएका बालबालिकालाई पढाउने उद्देश्यले छात्रवृति कोष अभियान आरम्भ गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । सौन्दर्य प्रतियोगिताको भीडमा पृथक पहिचान बनाएको मिस मंगोलका विजेताले सबैका लागि शिक्षा भन्ने लक्ष्यका साथ सुरु गरेको यो कोषअन्र्तगत आगामी शैक्षिक सत्रदेखी नै बालबालिकालाई पढाउन सुरु गराइने भएको छ ।
वार्षिक १० भन्दा बढी बालबालिकालाई पढाउने लक्ष्यका साथ सुरु गरिएको यो कोषको मुख्य श्रोत ‘डोनेसन’ र ‘फन्ड राइजिङ च्यारिटी प्रोग्राम’ हुने मिस मंगोल नेपाल २०१८ की विजेता जाङमु सेर्पाले जानकारी दिइन् । ‘मिस मंगोलको उपाधि जितेपछि पाएको सामाजिक पहिचान र जिम्मेवारीलाई आत्मासाथ गर्दै समाजका लागि केही न केही काम गर्नुपर्छ भन्ने लागेर यो अभियान आरम्भ गरेका हौं’, उनले भनिन् ।
पत्रकार सम्मेलनमा फस्ट रनरअप प्रीति गुरुङले कोषलाई पारदर्शी र विश्वव्यापी बनाउन बेभसाइट निर्माण गरी सबै जानकारी राखिने जानकारी दिइन् । ‘कोषको आधिकारिक वेभसाइटमा दाताको विवरण, कोर्षमार्फत अध्ययन गर्ने छात्रछात्रा, कोषका गतिविधी सबै राख्नेछौं’, प्रीतिले भनिन् । प्रीतिका अनुसार यो कोषका लागि विश्वभरका जोकोहीले अनुदान दिन र वेभसाइटमार्फत जानकारी लिन सक्ने छन् ।
प्रतियोगिताकी सेकेन्ड रनरअप पुनम सेर्पाले यो कोषमार्फत विद्यालय जान नपाएका धेरै बालबालिकाले पढ्ने मौका पाउने बताइन् । ‘अहिलेको समयमा पढ्न पनि नपाउनु दुर्भाग्य हो । त्यसैले चाहेर पनि विद्यालय जान नपाएका बालबालिकाका लागि अभियान आरम्भ गरेका हौं’, उनले भनिन् । यो अभियानले नेपाली सौन्दर्य प्रतियोगितालाई नयाँ उचाईमा पु¥याउने पनि उनले विश्वास व्यक्त गरिन् । एक्सन इन्टरटेनमेन्टको आयोजनामा हुँदै आएको मिस मंगोल नेपालले १०औं वर्ष पुरा गरेको छ ।

Comments