आफूलाई चिनाउन एकल साँझ
screennepal
प्रकाशित: २०७५, ३० कार्तिक शुक्रबार
no img

गायक अर्जुन सुनाम मंसिरको पहिलो साता एकल साँझमा गुञ्जिने भएका छन् । नेपाली फिल्म ‘बन्धकी’को ‘सुर्खेतको बुलबुले ताल’बोलको गीतबाट चर्चामा आएका अर्जुन आगामी ८ मंसिरमा राजधानीको जमलस्थित राष्ट्रिय नाच घरमा हुन लागेको ‘अर्जुन सुनाम सुमधुर साँझ’मा प्रस्तुत हुन लागेका हुन् । जहाँ उनले करिब एक दर्जन गीत सुनाउनेछन् ।
नेपाली सांगीतिक क्षेत्रमा डेड दशक विताएका कैलालीका अर्जुनको एकल साँझबारे बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो । सांगीतिक करिअरकै पहिलो एकल सा“झमा गुञ्जिन लागेका अर्जुन कार्यक्रमप्रति उत्साहित छन् ।
‘एउटा कलाकारका लागि एकल साँझ महत्वपूर्ण हुँदो रहेछ । एकल साँझका लागि उमेर पनि बुढो हुनुपर्ने सोचाइलाई चुनौति दिँदै बुढो हुनुभन्दा अघि नै एकल साँझ गर्न लागेको हुँ’ पत्रकार सम्मेलनमा उनले भने, ‘सबै किसिमका गीत सिक्ने स्थान दोहोरी साँझ नै हो । एकल साँझमा चाहिँ आधुनिक र लोकशैलीका गीत सुनाउनेछु ।’ उनले १५ वर्षदेखि दोहोरी सा“झमा गीत गाउँदै आएका छन् ।


बहराइन र मलेशियामा लामो समय बसेका अर्जुनले त्यहाँका गजलबारमा पनि गीत गाएका छन् । ‘कहिलेकहीँ नेपाल आउँदा गीत रेकर्ड गराएर उतै फर्किने बानीले गर्दा धेरै श्रोताले मलाई चिन्न सक्नुभएन । मेरो गीत मनपराउनुभयो तर मलाई नै चिन्नु भएन । त्यसकारण पनि यो एकल साँझ आमश्रोता दर्शकलाई चिनाउनका लागि माध्यम बन्नेछ,’ उनले भने ।
सरस्वती मिडिया फिल्मस्को आयोजना तथा सत्यवती कला केन्द्रको व्यवस्थापनमा हुने कार्यक्रममा अर्जुनले ‘सलल बगेको भेरी नदी’, ‘कहाँ पुग्यौ नेटो काटी’, ‘तिम्रै मायामा’, ‘राम कसम’ र ‘तिम्रै झल्को आउँछ मेरी निरमाया’लगायतका गीत सुनाउनेछन् । कार्यक्रम संयोजक उदिराम खड्काले कार्यक्रमबाट संकलन हुने रकमको केही प्रतिशत हिस्सा रक्त क्यान्सरपीडित बिरामी पूर्णकुमार श्रेष्ठलाई प्रदान गरिने बताए ।
एकल साँझमा संगीता राना प्रधान, बीबी अनुरागी, रिमा गुरुङ होडा, शर्मिला गुरुङ, टिका पुन, जुनु रिजाल र चन्दा विश्वकर्माले पनि अर्जुनलाई गायनमा साथ दिनेछन् ।

Comments