गोपी १८ माघमै आउँदै
screennepal
प्रकाशित: २०७५, २७ कार्तिक मंगलवार
no img

नेपाली फिल्म ‘गोपी’ आउँदो १८ माघमा रिलिज हुने भएको छ । यसअघि यो फिल्म १५ चैतमा रिलिज मिति तोकिएको थियो ।
दीपेन्द्र लामाको निर्देशित फिल्म ‘गोपी’मा विपिन कार्की, वर्षा राउत र सुरक्षा पन्तको मुख्य भूमिका रहेको छ । विपिन र सुरक्षाले यो फिल्ममा पहिलोपटक सँगै काम गरेका हुन् ।
फिल्मको पोस्ट प्रोडक्सन चाँडै सकिएको र देशविदेशका दर्शकले फिल्म चाँडो रिलिज गर्न आग्रह गरेपछि १८ माघमै ‘गोपी’ आउन लागेको निर्देशक लामाले बताए । आफ्नो पहिलो फिल्म ‘घामपानी’ले जस्तै ‘गोपी’ले पनि दर्शकलाई सन्तुष्ट बनाउने लामाको दावी छ ।
‘गोपी’लाई नेपालभर मनोज राठी र उज्ज्वल पौडेलको वैंकेट्स इन्टरटेनमेन्टले वितरण गर्ने भएको छ । निर्माता मणिकर्ण केसी र वितरकका तर्पmबाट मनोज राठीले सोमबार वितरण सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । ‘फिल्मको रिलिजबारे विभिन्न मितिको अध्ययन गर्दा सबैभन्दा अनुकूल १८ माघ देखिएको निर्माता केसीले प्रष्ट्याए ।
आरोही इन्टरटेनमेन्टको ब्यानरमा बनेको ‘गोपी’का कार्यकारी निर्माता श्रीधर पौडेल हुन् । एमए पढेर पनि गाईपालनमा होमिएका एक युवकको संघर्षकथा फिल्ममा समेटिएको पटकथा लेखक सामिप्यराज तिमल्सिनाले बताए । काठमाडौंको टोखा क्षेत्रमा छायांकन गरिएको ‘गोपी’मा शैलेन्द्रध्वज कार्कीको सिनेमाटोग्राफी, निमेष श्रेष्ठको सम्पादन, न्ह्यू बज्राचार्य, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत तथा विप्लव प्रतिक र बुद्धिसागरको गीत समावेश छ ।

Comments