आकाशले समय दिन नसक्दा पलको हातमा पर्यो “वीर विक्रम २”
screennepal
प्रकाशित: २०७५, २६ कार्तिक सोमबार
no img

स्क्रीननेपाल डटकम :
मिलन चाम्सले निर्देशन तथा निर्माण गर्न लागेको चलचित्र “वीर विक्रम २” मा अब आकाश श्रेष्ठ नरहने भएका छन् | केहि दिन अगाडी यस चलचित्र राजधानीमा भब्य निर्माण घोषणा गरिएको थियो | त्यस बखत चलचित्रका प्रमुख कलाकार आकाश श्रेष्ठ, वर्षा शिवाकोटी, बुद्धि तामाङ, नाजिर हुसेन लगायतका कलाकारहरुलाई भब्य तरिकाले सबैको सामु पेश गरिएको थियो | तर अहिले अचानक छायांकन हुने बखतमा नै आकाश श्रेष्ठले चलचित्र छोडेको भन्दा केहि अचम्म लाग्न सक्छ तर यो सत्य नै हो | उनको बदलामा अब यो चलचित्र नायक पल शाहले गर्ने भएका छन् |


निर्माण पक्षले पल शाह संग सम्झौता गरेर उनलाई चलचित्रको लागि फाईनल समेत गरिसकेको छ | यस अगाडी कार्तिक २६ गते देखि छायांकनमा जाने भनिएको चलचित्र अब भने मंसिर ३ गते मात्र छायांकनमा जाने भएको छ | निर्माण पक्षले एक प्रेस विज्ञप्ति नै जारी गर्दै चलचित्रमा आकाश श्रेष्ठको बदलामा पल शाहको इन्ट्रीको बिषयमा बिस्तृत रुपमा खुलाएको छ | प्रेस विज्ञप्ति अनुसार र निर्देशक तथा निर्माता मिलन चाम्सको अनुसार नायक आकाश श्रेष्ठको बुवा बिरामी हुनु भएर अचानक दिल्ली लानुपर्ने भएकोले आकाशले चलचित्र “वीर विक्रम २ ” लाई समय दिन नसक्ने भएकोले नै आपसी समझदारीमा उनले चलचित्र छोडेको बताईएको छ |

अब भने चलचित्र अझ बढी रोचक बन्दै गएको छ | पलको इन्ट्रीले भने “वीर विक्रम २” माथि थप रौनक थपेको छ | निर्माण पक्षले छायांकनको लागि सबै तयारी समेत गरिसकेको छ | चलचित्रमा रितेश चाम्स, शिशिर राणा, क्षितिज सुबेदी लगायतको कलाकारहरुको समेत अभिनय रहने छ | चलचित्र राम्रो बनाउने आफुले हर सम्मको प्रयास गर्ने विश्वास समेत निर्देशक तथा निर्माता मिलन चाम्सले ब्यक्त गरेका छन् |

Comments