खगेन्द्रले ‘सिँगौरी’ खेल्दा अलिशाको फर्रफरायो आँखा (भिडियोसहित)
screennepal
प्रकाशित: २०७५, १९ कार्तिक सोमबार
no img

गायक खगेन्द्र लिम्बू यक्सोको ‘सिँगौरी’ बोलैको गीत अहिले चर्चामा छ । पुर्वेली लोकभाकालाई आफ्नो पहिचान बनाउँदै आएका खगेन्द्रको पछिल्लो हिट गीत पनि हो, ‘सिँगौरी’ । पछिल्लो समयकी चर्चित मोडल अलिशा राईलगायतका केही कलाकारले अभिनय गरेको ‘सिँगौरी’ चर्चामा आइरहेकै बेला खगेन्द्रले अर्को गीत सार्वजनिक गरेका छन् ।
गायक, संगीतकार र गीतकारसमेत रहेका खगेन्द्रले पुर्वेली लोकभाकालाई टिपेर ‘आँखा फर्रफरायो’ बोलको गीत ल्याएका छन् । जसलाई उनले ‘सिँगौरी–२’ को दर्जा दिएका छन् । फिल्म हिट भएपछि सिक्वेल निर्माण गर्ने प्रचलनलाई पछ्याउँदै खगेन्द्रले आफ्नो चर्चित गीत ‘सिँगौरी’को दोस्रो शृंखला प्रस्तुत गरेका हुन् । ‘सिँगौरी’कै अधिकांश कलाकारलाई ‘आँखा फर्रफरायो’मा दोहो¥याएको छ ।
खगेन्द्र र सिबी स्याबुनेको शब्दरचना रहेको गीतमा स्वर खगेन्द्रसँगै गायिका मेलिना राई र सिबीको रहेको छ । यस भिडियोलाई युगल पोमुले नै निर्देशन गरेका हुन् । यसअघि ‘सिँगौरी’को पनि उनैले गरेका थिए ।

त्यस्तै, भिडियोमा पनि अलिशा राईकै अभिनय रहेको छ । फिल्मी शैलीमा छायाँकन गरिएको यस भिडियोमा अलिशासँगै दिनेश गुरुङ, श्याम राई, दिपम्सु थापा, राम गुरुङ, मौसमी सुब्बा, सिबी स्याबुने, सुनिल लाबुङलगायतको अभिनय रहेको छ ।
तेञ्जु योञ्जनको कोरियोग्राफी रहेको ‘आँखा फर्रफरायो’ गीतको भिडियोलाई निशान र विकासले सम्पादन गरेका हुन् । यस गीतलाई पनि दर्शक तथा श्रोता रुचाएका छन् ।
पछिल्लो समय आफ्नो धारभन्दा केही फरकशैली अपनाएका खगेन्द्रका यसअघिका अधिकांश गीत चर्चित छन् । खगेन्द्रले ‘सिँगौरी’ यता डान्सिङ लोक फ्लेवरलाई आत्मसात गरेका छन् । तर, उनका यसअघिका गीतहरु भने नाच्नलाई भन्दा सुन्नलाई आनन्द लाग्ने खालका छन् ।
खगेन्द्रका ‘मलबासेको जाँड पानी मीठो’, ‘माघे नी मेला’, ‘खोरुङ्वा खोला’जस्ता गीतहरु चर्चित छन् । तर, केही समययता नेपाली फिल्ममा समेत डान्सिङ लोक बीटका गीतहरु चलिरहेको अवस्थामा खगेन्द्रले ‘सिँगौरी’ बजारमा ल्याएका हुन् । जुन गीतको भिडियो नेपाली फिल्मीशैलीमै छायांकन गरिएको छ । जसलाई दर्शकले पनि अत्याधिक रुचाए । र, अहिले उनले त्यही शैलीमा ‘आँखा फर्रफरायो’ ल्याएका छन् । यो गीतले पनि दर्शकको मन जित्ने उनको अपेक्षा छ ।

Comments