नमूनाको अभूतपूर्व परिकल्पनामा मोडलहरु (फोटो फिचरसहित)
screennepal
प्रकाशित: २०७५, २३ आश्विन मंगलवार
no img

यही गएको आइतबार राजधानीको पँचतारे होटल सोल्टी क्राउन प्लाजामा ‘अभूतपूर्व परिकल्पना’ शीर्षकअन्तर्गत प्रस्तुत भएको फेसन शो शीर्षकअनुसार अभूतपूर्व नै लाग्यो ।

विशाल र कलात्मक सजावटमा झकिझकाउ देखिएको ¥याम्प सेटअपमाथि ओहोर–दोहोर गर्ने मोडलहरुले पहिरिएका कलात्मक, सृजनात्मक तथा फरक परिवेश र पृथक सोचबाट अभिप्रेरित पहिरनले दर्शक दीर्घालाई निकै बेरसम्म मन्त्रमुग्ध बनाइरहन सफल भएको थियो ।

परिकल्पना शीर्षकअन्तर्गत २१ वटा पहिरनहरुमा विद्यार्थी डिजाइनरहरुको मिहेनत प्रशंसनीय थियो । ८४ जना विद्यार्थी डिजाइनहरुको २१ वटा समूहले प्रस्तुत गरेको भविष्यको परिकल्पना गर्दै तयार पारिएका पहिरनरुपी आकृतिहरु विज्ञान प्रविधि, जीवजन्तुको म्युटेसन, अनलाइन गेम्स, मानव र अन्य जीवको म्युटेसन, संगीत, रोबट, स्पेश सीप आदि प्रभावित थिए । सोहीअनुरुप भविष्यको परिकल्पना गरिएका पहिरनरुपी आकृतिहरुमा पुच्छर, सिङ, पखेटा अदिको समायोजन पनि थियो । कपडाबाहेक विभिन्न घरायसी तथा व्यवसायिक परिवेशमा प्रयोग हुने विभिन्न सर सामाग्रीको समायोजन पनि ती पहिरनहरुको विशेषता थियो ।

नमूना कलेज अफ फेसन टेक्नोलजीमा फेसन डिजाइनिङ पढाइअन्तर्गतको तीन वर्षे स्नातक तह पूरा गर्ने क्रममा चौधौं ब्याचका ८४ जना विद्यार्थी डिजाइनहरुको कल्पनाशीलता र सृजनात्मक अभिव्यक्ति प्रदर्शन गरिएको सो फेसन कार्यक्रमको कोरियोग्राफी एवं निर्देशन रोजिन शाक्यले गरेका थिए ।

विद्यार्थी डिजाइनरहरु स्वयंले आयोजना एवं व्यवस्थापन गरेको सो ग्राजुएसन फेसन शो कार्यक्रमको प्रमोशनका लागि फोटोशुटमा प्रयोग भएका पहिरनका मोडलहरुसहित नमूना कलेजका संस्थापक प्रिन्सिपल एवं अग्रणी नेपाली फेसन डिजाइनरका रुपमा परिचित ज्ञानी शोभा तुलाधरको रनवेमा उपस्थितिसँगै अगाडि बढेको थियो ।

क्रिएटिभबाहेक कार्यक्रममा अन्य पाँच वटा प्रस्तुति समेटिएका थिए । जसमा नेपाली साँस्कृतिक विविधता र जातिय पहिचानको चिनारी बोक्ने पहिरनहरुको फ््युजन शैलीहरु देख्न पाइयो । जसअन्तर्गत लिम्बु, तामाङ, शेर्पा, थकाली, नेवार, सुनुवार, थारुलगायतका जातियता झल्किने पहिरनहरु थिए । जुट, हेम्प, अल्लो, ब्याम्बु जस्ता नेचुुरल फ्याब्रिक प्रयोग गरिएका पहिरनहरु भने फ्ल्यापर तथा युनिसेक्स शैलीबाट प्रभावित एवं प्रेरित थिए ।

२४ जना युवती तथा १० युवा मोडलहरुको उपस्थिति रहेको सो फेसन कार्यक्रममा ड्रामाटिक ग्ल्याम शीर्षक अन्तर्गत सुन्तला, प्याजी, पहेंलो, नीलो, सिल्भर जस्ता रंगहरुको प्रधानता रहेको साटन, नेट सिफन जस्ता फ्याब्रिकका खेलिएका लङ ड्रामाटिक गाउनहरु प्रदर्शन गरिएका थिए ।

Comments