विराटनगरमा हुँदै म्युजिक अवार्ड | रानुदेवीलाई ‘दीर्घ साधना सम्मान’
screennepal
प्रकाशित: २०७५, १६ आश्विन मंगलवार
no img

‘सातौँ म्यूजिक खबर म्यूजिक अवार्ड–२०७५’ मा रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीलाई यस वर्षको ‘दीर्घ साधना सम्मान प्रदान’ गरिने भएको छ । पहिलोपटक एक नम्बर प्रदेश विराटनगरमा हुन गइरहेको कार्यक्रममा गायिका अधिकारीलाई ‘म्युजिक खबर दीर्घ साधना सम्मान–२०७५ प्रदान गरिन लागिएको आयोजकले जनाएको हो ।
राणा शासनविरुद्ध अभियानामा प्रजातान्त्रिक आन्दोलन रेडियोमा गीत गाएर होमिएकी रानुदेवीले २००६ सालमा पहिलो गीत रेकर्ड गराएकी थिइन् । तारणीप्रसाद कोइरालाको शब्दमा उनले गाएको गीतले जनतालाई जागरुक गराएको थियो । प्रजातन्त्र आएपछि त्यस रेडियोलाई काठमाडौं ल्याएर रेडियो नेपाल बनाइएको थियो ।
यहि १९ असोजमा हुने कार्यक्रममा गीतसंगीतका विभिन्न ३३ विधामा अवार्ड प्रदान गरिँदैछ । विभिन्न सांगीतिक कार्यक्रमसहित हुने अवार्डमा दशकको स्रष्टा सम्मानबाट गायक तुलसी पराजुली र गायिका माण्डवी त्रिपाठीलाई सम्मानित गरिने भएको छ । २५ वर्षदेखि निरन्तर क्रियाशील रहेका गायक पराजुली धनकुटा डाँडाबजारमा जन्मिएका पराजुलीका परदेशी, घुम्तीको बाटोमा, देउराली, बिरानो देश, मायाको चिनो, खोटाङ जिल्ला दिक्तेल बजार, झलझली आँखैमालगायतका गीति एल्बमहरु छन् ।
लमजुङमा जन्मिएकी गायिका त्रिपाठीले एक हजारभन्दा माथि दोहोरी गीतमा स्वर दिइसकेकी छन् भने उनका सिम्पल सिम्पल कान्छीको, ढल्क्यो ढल्कयो, मात लाग्यो, ढोल बज्यो, बारुले कम्मरलगायतका चर्चित गीतहरुमा स्वर दिइसकेकी छन् ।
त्यस्तै, कार्यक्रममा गायक प्रेम सापकोटा सोनुलाई ‘म्यूजिक खबर डायस्पोरा संगीत सम्मान’ गायिका मल्लिका कार्कीलाई ‘म्यूजिक खबर युवाप्रतिभा संगीत सम्मान–२०७५’ र गीता अधिकारीलाई ‘म्यूजिक खबर संगीत पत्रकारिता सम्मान–२०७५’ प्रदान गरिने भएको छ । कार्यक्रममा याङ्शु श्रेष्ठलाई ‘म्यूजिक खबर बालप्रतिभा प्रोत्साहन सम्मान’ र ‘म्युजिक खबर प्रदेश नं १ विशेष सम्मान’द्वारा गीतकार शुभ मुकारुङ र गायक डीबी गुरुङलाई सम्मानित गरिने आयोजकले जनाएको छ ।

Comments