‘गोल्डेन डोर’मा फूलमानको सेलफोन
screennepal
प्रकाशित: २०७५, २९ भाद्र शुक्रबार
no img

प्रविधि र सांस्कृतिक मान्यताबिचको संघर्ष समेटिएको छोटो फिल्म ‘सेलफोन’ अमेरिकाको आठौं गोल्डेन डोर इन्टरनेश्नल फिल्म फेस्टिभल अफ न्युजर्सीमा छानिएको छ ।
यही २० सेप्टेम्बरदेखि हुने चार दिने फेस्टिभलको फ्यामिली ड्रामा विधा अन्र्तगत ‘सेलफोन’ छानिएको हो । फूलमान वलको निर्देशन रहेको १५ मिनेट लामो ‘सेलफोन’मा ढ्याङग्रो बेचेर मोवाइल फोन किन्ने एक युवकको संघर्ष समेटिएको छ ।

बजार र प्रविधिका कारण परम्परागत मुल्यमान्यतामाथि आइलागेको चुनौती प्रस्तुत गरिएको यो छोटो फिल्मले केही बर्ष अघि राजधानीमा सम्पन्न नेपाल अन्तराष्ट्रिय आदिबासी फिल्म फेस्टिभलमा अवार्ड पाएको थियो । त्यस्तै चीन, बंगलादेश, अमेरिका, कोलम्बिया लगायतका मुलुकका आधा दर्जन अन्तराष्ट्रिय फिल्म फेस्टिभलहरुको अफिसियल सेलेक्सनमा परिसकेको छ । ङिमा पाख्रिन (अमेरिका), चन्द्रमाया बमजन (इजरायल) लगायत निर्माता रहेको ‘सेलफोन’मा उमेश तामाङ, शान्ति वाइवा, प्रेम लोप्चन लगायतले अभिनय गरेका छन् । ‘संस्कृति र आधुनिकता बिचको संघर्ष तेस्रो विश्वमात्रै हैन, संसारभर नै छ’, अमेरिकामै रहेका निर्माता ङिमा पाख्रिनले भने, ‘सेलफोनले भने तामाङ समुदायको समस्या उठाएको छ ।’

फेस्टिभलको तेस्रो दिन सेप्टेम्बर २२ गते ‘सेलफोन’ शो हुने फेस्टिभलको वेइभसाइटमा उल्लेख छ । त्यस्तै फेस्टिभलको म्युजिक भिडियो विधामा नेपालबाटै गायक रामकृष्ण ढकालको ‘अचेल पाइलै पिच्छे…’ बोलको गीत छानिएको छ । कृसु क्षेत्रीको शब्द रहेको यो गीतस“गै फेस्टिभलका लागि विश्वभरबाट झण्डै एक सय म्युजिक भिडियो छानिएका छन् । हिमाल सागरको संगीत रहेको गीतको म्युजिक भिडियोको निर्देशन बिक्की पुलामी खडगले गरेका छन् । गीतमा मानवीय जीवनको सफलता र असफलतालाई तुलना गरिएको छ ।

Comments