केशुको गाउँमा फूल्यो ‘बुकी फूल’ (फोटो फिचरसहित)
screennepal
प्रकाशित: २०७५, २४ भाद्र आईतवार
no img

तिजकौ मौसम, रातै छ बजार अनि जताततै दर खाने महिलाको भीड । तर, शनिबार तनहुँको सुन्दर गाउँ धरमपानीमा रोधी झल्कियो । जहाँ परम्परागत पहिरनमा ठाँटिएका गुरुङसेनीहरुसँग तन्नेरीको भीडमा गुञ्जिँदै थियो, ‘बुकी फूल’ ।


तनहुँको धरमपानी गायिका केशु गुरुङको जन्मगाउँ हो । जुन तनहुँको पर्यटकीय बजार बन्दीपुर समिपमै छ । हो, त्यही आफ्नो सुन्दर गाउँमा गायिका केशु गुरुङले आफ्नो पछिल्लो कौरा गीत ‘बुकीफूल’को छायांकन गरेकी छन् । गुरुङ समुदायको बाहुल्यता रहेको त्यो गाउँमा ‘बुकी फूल’ फूलाउन काठमाडौंबाट बरिष्ठ गायक तथा संगीतकार रेशम गुरुङ र दुर्गा गुरुङको नेतृत्वमा एक हुल कलाकार तथा प्राविधिक धरमपानी पुगेका थिए ।


रमणीय दृश्यका बीच टक्क अढिएझैँ लाग्ने धरमपानीमा तिजको मौसमलाई चुनौती दिँदै कौरा गुञ्जिँदा त्यहाँको वास्तविक पहिचान झल्किएको थियो । जहाँ गुरुङ समुदाय कौरा र चुट्कामा रमाउने गर्छन् । जसले गर्दा ‘बुकी फूल’ बोलको कौरा गीतको छायांकन भइरहेको भएपनि लाग्थ्यो, ‘त्यहाँ रोधी जम्दैछ ।’
आफ्नै सुन्दर गाउँमा पहिचान झल्काउँने कौराको सुटिङ गर्न पाउँदा गायिका केशु पनि दंग भइन् । ‘मलाई एकदमै खुसी लागेको छ’ सुटिङ सकिएपछि केशुले भनिन्, ‘गीतको रियालिटी झल्काउँनलाई पनि धरमपानीमै यस गीतको छायांकन गरेकी हुँ ।’ आफ्नै गाउँमा सुटिङ गरेकाले खाशै सास्ती समेत खेप्नु नपरेको उनले सुनाइन् ।


‘बुकी फूल’मा गायक दुर्गा गुरुङ र केशु गुरुङका अलावा कुम गुरूङ र लक्ष्मी रानामगरको पनि स्वर छ । कौराको विशेषताअनुसार यस गीतलाई धेरैले स्वर दिएका छन् । कौरा तथा चुट्का प्रायः समूहमा गाइन्छ । त्यसैले सुटिङमा समेत दजैनौँ कलाकार चाहिन्छ । त्यहीअनुसार ‘बुकी फूल’मा दर्जनौंलाई नचाइएको छ । परम्परात देखिने घर अनि वातावरणमा हुलका हुल कौरामा छिमलिँदा बैग्लै आनन्द हुन्छ ।


‘बुकी फूल’मा शब्द बरिष्ठ गायक तथा संगीतकार रेशम गुरुङ र केशु गुरुङको रहेको छ । उक्त गीतले तन्नेरी मनको प्रेमात्मक भावना समेटेको गीतकारमध्येका रेशम गुरुङले बताए । उनले भने, ‘यो चलनचल्तीकै माया पे्रममा आधारित छ ।’ ‘बुकी फूल’को भिडियोलाई पर्शन गुरुङले निर्देशन गरेका हुन् । भिडियोमा छायांकन शक्ति प्रज्वल घिमिरेको रहेको छ ।
गायिका केशु गुरुङका अनुसार केही दिनमै भिडियो दर्शक तथा श्रोतामाझ आउने छ । उनले भनिन्, ‘सकेसम्म भिडियो राम्रो बनाउने प्रयास गरेका छौँ । आशा छ, यहाँहरुले मन पराइदिनु हुनेछ ।’

Comments