फिल्म प्रमोसन गर्न ८ सहरमा ‘रोज’को कन्सर्ट
screennepal
प्रकाशित: २०७५, ४ भाद्र सोमबार
no img

फिल्म ‘रोज’ले मुलुकका ८ मुख्य सहरमा कन्सर्ट गर्ने भएको छ । २२ भदौबाट देशव्यापी प्रदर्शनमा आउने यस फिल्मको निर्माण टिमले ‘रोज’को कन्सर्टका लागि ८ सहर चयन गरेको हो ।
फिल्ममा निर्देशक निरक पौडेलका अनुसार मोफसल यात्रा तालनगरी पोखराबाट १४ भदौदेखि सुरु हुनेछ । पोखराको मिडटाउन ग्यालरी अगाडि ‘रोज’का कलाकारले १४ भदौमा कन्सर्ट गर्नेछन् । सोहीदिन प्रेस कन्फ्रेन्स हुनेछ ।
यस्तै १५ भदौमा औद्योगिक नगरी बुटवलमा र १६ भदौमा नारायणगढमा कन्सर्ट गरिने निर्माण टिमले जनाएको छ । यसपछि १७ भदौमा इटहरी र धरानमा १८ भदौ तथा दमक र बिर्तामोड कन्सर्ट गरेर कलाकाररु काठमाडौं फर्कने छन् ।
रोजी महर्जनको परिवारसँगको वार्तापछि शुक्रबार मात्र यो चलचित्रको ‘रोजी’बाट ‘रोज’ नामाकरण गरिएको थियो । क्राइम थ्रीलर ड्रामा जनरको भनिएको यो फिल्मको मुख्य कलाकार प्रदीप खड्कासहितका कलाकारले मोफसल यात्रामा सञ्चारकर्मीसँग साक्षात्कार गर्नेछन् ।
गोपीकृष्ण मूभिज र आरोही इन्टरटेनमेन्टद्वारा निर्मित यो फिल्मको २० भदौमा काठमाडौंमा कन्सर्ट हुने पनि निर्माण पक्षले जनाएको छ ।
मोफसल यात्राको कन्सर्टमा अभिनेता खड्का, नेपाल आइडलको सेकेन्ड रनरअप प्रताप दाससँगै रोजका बाँकी अभिनेता अभिनेत्री प्रस्तुत हुनेछन् ।

Comments