‘लिटिल आइडल’ खोज्दै प्याब्सन
screennepal
प्रकाशित: २०७५, १० श्रावण बिहीबार
no img

प्याब्सन काठमाडौं र एक्सन इन्टरटेनमेन्ट प्रालीको संयुक्त आयोजनामा हुने ‘मिस लिटिल आइडल–२०१८’को खोजी सुरु भएको छ ।
विभिन्न विद्यालयमा अध्ययनरत छात्राहरुमा निहित क्षमता अभिवृद्धिका साथै गुणस्तरीय अध्ययन र सिर्जनात्मक काममा प्रेरित गर्न प्याब्सन काठमाडौं र एक्सन इन्टरटेनमेन्टले संयुक्त रुपमा यो प्रतियोगिता आयोजना गर्दै आएको छ ।
प्रतियोगीतामा सहभागी विद्यार्थीको व्यक्तित्व विकास, क्षमता अभिवृद्धि, लुकेको प्रतिभा प्रस्फुटन एवं अतिरिक्त क्रियाकलापमा सुधारलगायत धेरै कुरामा प्रभावकारी देखिएकाले मिस लिटिल आइडल प्रतियोगितालाई निरन्तरता दिइएको प्याब्सन काठमाडौंका अध्यक्ष हरिकृष्ण श्रेष्ठले बताए । प्रतियोगीतामा निजी तथा सरकारी विद्यालयमा अध्ययनरत देशभरका आठदेखि १३ वर्ष उमेर समुहका बालिका सहभागी हुन सक्नेछन् ।
सन् २००९ देखी वार्षिक रुपमा यो प्रतियोगीता आयोजना गर्दै आएको एक्सन इन्टरटेनमेन्टसँग २०७२ सालदेखी प्याब्सन काठमाडौंले सहकार्य सुरु गरेको हो । प्रतियोगीताका शिर्ष उपाधि विजेतालाई नगद पुरस्कार एवं ताजसहित प्याब्सनको संयोजनमा सम्बन्धित विद्यालयसँग समन्वय गरी मासिक शुल्कमा एकवर्षको छात्रवृति, फस्ट रनरअप एवं सकेन्ड रनरअपलाई नगद पुरस्कार एवं ताजसहित प्याब्सनको संयोजनमा सम्बन्धित विद्यालयसँग समन्वय गरी मासिक शुल्कमा एक वर्षको ५० प्रतिसत छात्रवृति प्रदान गरिने आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलनमा प्याब्सन काठमाडौंकी सहसचिव एवं ‘मिस लिटिल आइडल–२०१८’ की संयोजक रिता राई (दाहाल)ले प्रतियोगिता उपलब्धीमुलक एवं सहभागीमा सकारात्मक परिवर्तन देखिएको बताइन् । ‘अहिलेका विद्यार्थी कितावमा मात्र सिमित भएर हुँदैन । त्यसैले कोर्षमा नभएका तर समयअनुसार आवश्यक क्षमता अभिवृद्धिका लागि यस्तो प्रतियोगीता आवश्यक छ’, संयोजक राईले भनिन् । मिस लिटिल आइडलको यो नवांै संस्करण हो । प्रतियोगिताको अन्तिम प्रतिष्पर्धा भदौ १६ गते राजधानीमा हुनेछ ।

Comments