कोरियाली ‘नाटक महोत्सव’मा नेपाली नाटक ‘चन्द्र–सूर्य र काग’
screennepal
प्रकाशित: २०७५, ९ श्रावण बुधबार
no img

रंगकर्मी केदार श्रेष्ठले कोरियाको दुई अन्तर्राष्ट्रिय नाटक महोत्सवमा आफ्नो प्रस्तुति मञ्चन गर्ने भएका छन् । उनले ‘पुम थिएटर फेस्टिभल २०१८’ र ‘आसितेज कोरिया इन्टरनेशनल समर थिएटर फेस्टिभल’मा आफ्नो एकल नाटक ‘चन्द्र–सूर्य र काग’ मञ्चन गर्दैछन् ।
अंग्रेजीमा ‘मिस्टर मुन, मिस सन एण्ड मिसेस क्रो’नाम दिइएको सो एकल प्रस्तुति एक महिने एसियन आर्टिस्ट रेसिडेन्स कार्यशालामा क्रममा तयार पारिएको हो । मिन्डुले थिएटर र फेस्टिभल पुमको निर्देशकसँग इन्ह्युन ‘सङ इनह्युन’को सुपरिवेक्षेणमा कोरियाली प्रशिद्ध लोकथामा नेपाली पात्र र परिवेश थपेर श्रेष्ठले नाटक निर्देशन साथै अभिनय गरेका हुन् ।
‘एसियन आर्टिस्ट रेसिडेन्स फर चिल्ड्रेन्स थिएटर–२०१८’मा नेपालबाट प्रतिनिधित्व गर्दै ‘आसितेज नेपाल’को तर्फबाट सहभागी भएका केदार श्रेष्ठ थिएटर सेन्टर फर चिल्ड्रेन (टिसीसी नेपाल) र थिएटर मलका संस्थापक तथा कला निर्देशक समेत हुन् ।
कोरियाको लोकप्रिय लोककथामा नेपाली पात्र र परिवेश थपिएको छ । नेपालमा शुभ समाचारको प्रतीकको रुपमा लिइने कागलाई थप्दै नेपाली लोक भाका समेत समावेश गरिएको थियो ।


आमाको पर्खाइमा रहेका भोका दाजु र बहिनीले छट्टु बाघसँग गरेको संघर्ष कथामा छ । उनीहरुलाई यो संघर्षमा कागले निरन्तर साथ दिन्छ । नेपाली परिवेशमा ढाल्ने क्रममा कोरियाली लोककथामा भन्दा फरक रुपमा मृत्युपर्यन्त पनि आमाले आफ्ना छोराछोरीलाई क्रुर बाघको घेराबाट बचाएको कथा प्रस्तुतिमा छ । आमाले जोगाएर आकाशमा पुगेका दाजु बहिनी अन्ततः चन्द्र र सूर्य बन्छन् ।
दाजु, बहिनी, आमा, बाघ र काग गरी ५ पात्र रहेको यस कथामा श्रेष्ठले एकल प्रस्तुतिको परिकल्पना गरेका छन् । समग्रमा यो माया, ममता, सहयोग, संघर्ष र खुशीको कथा हो ।
कोरियाको गेयोगीं प्रान्तस्थित मिन्डुले थिएटर भिलेजमा हुने बालबालिका र अभिभावकमा केन्द्रित नाट्य महोत्सव ‘फेस्टिभल पुम’को यो १०औँ संस्करण हो । त्यस्तै बाल रंगमञ्चको अन्तर्राष्ट्रिय छाता संगठन आसितेजको कोरिया सेन्टर ‘आसितेज कोरिया’ले ‘इन्टरनेशनल समर थिएटर फेस्टिभल’को यो वर्ष २६ वर्षदेखि गर्दै आएको छ ।
कोरियन आर्ट काउन्सिलको सहकार्यमा गरिएको एसियन आर्टिस्ट रेसिडेन्समा कोरिया, नेपाल, भारत, फिलिपिन्स, श्रीलंका र पाकिस्तानका गरी १० रङ्गकर्मी सहभागी थिए । थिएटर फेस्टिभलमा भने विश्वभरबाट विभिन्न देशका नाटकहरु मञ्चन भएका थिए ।

 

Comments