काठमाडौंमा सुनिए सिक्किम–दार्जिलिङका कवि
screennepal
प्रकाशित: २०७५, २ श्रावण बुधबार
no img

२०५औंँ भानुजयन्ती तथा आफ्नो छैठौँ वार्षिक उत्सवको अवसर पारी भारतका सिक्किम, दार्जिलिङ, सिलगुडी, मिरिकलगायतका कविहरुलाई काठमाडौं निम्त्याएर नेपाली वाङ्मय परिषद्ले नेपाली कविताका बारेमा अन्तरक्रिया गर्नुका साथै विशेष कविगोष्ठीको आयोजना गरेको छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठान, अनुवाद विभाग प्रमुख प्रा.डा. उषा ठाकुर, आख्यान विभाग प्रमुख मातृका पोखरेल, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ नारद हार्तम्छालीको पनि उपस्थिति रहेको थियो ।
नेपाल प्रज्ञा–प्रतिष्ठानको सहयोगमा आयोजित उक्त कार्यक्रममा सिलगुढीका कवि तथा समीक्षक सुकराज दियालीले पूर्वोत्तर भारतमा नेपाली कविताको स्थितिबारे संक्षेपमा गोष्ठीपत्र प्रस्तुत गरेका थिए । त्यसपछि कार्यक्रममा सिक्किमका कवि वीरु बाङ्देल, दार्जिलिङ, मिरिक तथा सिलगुडीबाट आएका कविहरु रन्जित गुरुङ, महेन्द्र स्याङ्बो, मनोहर शर्मा, सुरज रोसरी र शरदकुमार क्षेत्रीले कविता सुनाएका थिए ।
त्यसै गरी नेपालका कविहरु देवकी अभिलाषी, सुनिता खनाल र बिना थिङ तामाङले आ–आफ्ना कविता पाठ गरेका थिए । संस्थाको विधानअनुसार कार्यक्रममा कविता राई गाउँले, वसन्तराज अज्ञात र सरस्वती पन्त भट्टराईलाई आजीवन सदस्यता प्रदान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती र परिषद्का अध्यक्ष शशी लुमुम्बूले उनीहरुलाई ताम्रपत्र र फूलमाला लगाएर आजीवन सदस्यता प्रदान गरेका थिए । यस्तो महत्वपूर्ण कार्यक्रमको संयोजन गरेकोमा परिषद्लाई धन्यवाद दिँदै प्रमुख अतिथि कुलपति उप्रेतीले नेपाली मूलका भारतीय कविहरुले नेपाली कविताको उन्नयनमा उल्लेखनीय योगदान दिएको बताए ।
सभाका सभाध्यक्ष नेपाली वाङ्मय परिषद्का अध्यक्ष शशी लुमुम्बूले स्थापना कालदेखि नै संस्थाले भारतका विभिन्न प्रान्तका नेपालीभाषाी तथा गैरनेपाली भाषी स्रष्टाहरुलाई नेपाल आमन्त्रण गरी साहित्यिक आदान प्रदान कार्य गरिरहेको उल्लेख गरे । कार्यक्रममा परिषद्का उपाध्यक्ष पूर्ण इन्फादा र सचिव टीका चाम्लिङले संस्थाका गतिविधिबारे प्रकाश पारेका थिए ।

Comments