साहित्य र संस्कृतिलाई संमृद्धिसँग जोड्न आग्रह
screennepal
प्रकाशित: २०७५, ३० असार शनिबार
no img

राजधानीमा जारी ‘हिमवत् खण्ड कला साहित्य सम्मलेन’को दोस्रो दिन शनिबार कला, साहित्य, संस्कृति र सभ्यतासम्बन्धी स्वदेशी र विदेशी विज्ञबीच विभिन्न विचार विमर्श भएको छ ।
नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २०५औँ जन्मजयन्तीका अवसरमा ‘मदन भण्डारी कला साहित्य प्रतिष्ठान’ले आयोजना गरेको त्रिदिवसीय सम्मलेनअन्तर्गत शनिबार कलाकार ठाकुरप्रसाद मैनालीले ‘नेपाली कला संस्कृतिको फैँलदो आकाश र भावी दिशा’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । उनले इसापूर्व बनेका प्रस्तर गजलक्ष्मी, अष्टमात्रिका तथा सूर्यका मूर्तिहरुले नेपाली कलाको ऐतिहासिकता झल्काउने गरेको बताए । चीनको कला संस्कृतिको विकासमा समेत नेपालीको भूमिका रहेको उनको भनाइ थियो ।
भारतको सिक्किम विश्वविद्यालयका डीन डा.कविता लामाले ‘भाषिक साहित्यिक विश्वसम्पदाका सन्दर्भमा भानुभक्त’ विषयमा प्रस्तुति गर्दै भानुभक्तीय रामायणलगायत कृतिलाई डिजिटलाइजेसन गर्न सुझाव दिइन् ।
त्यस्तै, प्राडा. मधवप्रसाद पोखरेलले ‘हिमवत् खण्डको भाषाको उद्भव ः नेपाली भाषाको वर्तमान महत्व र स्थिति’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै नेपाली भाषालाई खसालेर अंग्रेजीलाई पुल्पुल्याउने अवस्था देखिएकोमा चिन्ता प्रकट गरेका थिए भने प्राडा जीवेन्द्रदेव गिरीले ‘नेपाली भाषाको साहित्यिक अवस्था र समृद्धिको यात्रा’ विषयमा बोल्दै नेपाली, नेपाल भाषा र मैथिलीमा झै सबै मातृभाषामा साहित्यको विकास हुन सकेमा समृद्धिका लागि टेवा पुग्ने विश्वास व्यक्त गरे ।
ती कार्यपत्रमाथि क्रमशः प्राज्ञ विष्णु प्रभात, लक्ष्मण न्यौपाने (म्यानमार), प्राडा व्रतराव आचार्य र डा जगमान गुरुङले समीक्षात्मक ब्याख्या गरेका थिए ।
कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले हिमवत् खण्ड कला साहित्य सम्मेलनको सफलताको कामना गर्दै यस क्षेत्रका कला र संस्कृतिलाई सियोले धागो उने झैँ एउटै मालामा उन्न सक्नुपर्ने बताए । उनले साहित्य र संस्कृतिलाई संमृद्धिसँग जोड्न पनि आग्रह गरे ।
शनिबार नै बहुभाषिक कवि गोष्ठी र हास्यव्यङ्य साँझ कार्यक्रम गरिएको छ भने आइतबार स्रष्टाहरु चन्द्रागिरि पुगेर स्थलगत सिर्जना र समापानमा सहभागी हुनेछन् । सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार उद्घाटन गरेका थिए ।

Comments