संगीतकर्मीद्वारा संगीत विकास बोर्ड गठनको माग
screennepal
प्रकाशित: २०७५, ३० असार शनिबार
no img

राष्ट्रिय संगीतकर्मी संघले संगीत विकास बोर्ड गठन गर्न सरकारसंग माग गरेको छ । संघले राजधानीमा पत्रकार सम्मेलन गरी यस्तो माग गरेको हो ।
संघका अध्यक्ष राजेन्द्रकुमार कार्कीले कलाकारको सिर्जनामा हुने बौद्धिक चोरीलाई नियन्त्रण गर्न संगीत विकास बोर्ड अविलम्ब गठन गर्न माग गरेको हो । उनले त्यसप्रकारको चोरीले सर्जकको रचना तथा सिर्जनामा गरिने लगानीको प्रतिफल उपलब्ध हुन नसक्ने उल्लेख गर्दै गीत बजेवापत कलाकारले सबै निकायबाट प्राप्त गरेको रोयल्टी कुनै कलाकारलाई मर्का नपर्ने गरी वितरण गर्न बोर्डको आवश्यकता रहेको बताए ।
संघले जारी गरिएको विज्ञप्तिमा सबै कलाकारलाई समेट्ने गरी राज्यबाट नै साझा ‘कलाकर्मी अक्षयकोष’ को गठन गर्नुपर्ने र पाइरेसीको अन्त्य गर्नुपर्ने माग गरिएको छ ।
प्रत्येक प्रदेशमा संगीत विद्यालय खोल्नुपर्ने, नेपाली कला, संस्कृति संरक्षणका लागि हरेक सञ्चारमाध्यमले निश्चित समय निःशुल्क उपलब्ध गराउनुपर्ने, विद्यालयदेखि नै संगीत क्षेत्रको पाठ्यक्रमको विकास गर्नुपर्ने माग विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘अपांग, उत्पीडित र असाहय संगीतकर्मीलाई राज्यबाट निःशुल्क स्वास्थ्य उपचार गराउनुपर्ने तथा नेपाली चलचित्र र गीतसंगीत विदेश लैजाँदा सहुलियत उपलब्ध गराउनुपर्छ ।’

 

Comments