बुद्धको सम्झनामा शान्ति कविता
screennepal
प्रकाशित: २०७५, २६ जेष्ठ शनिबार
no img

भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको हलमा शान्तिदूत भगवान गौतम बुद्धको २५६२औँ बुद्ध जयन्तीको उपलक्ष्यमा आयोजित ‘एनएलजी विशेष शान्ति कविता गोष्ठी’को आयोजना गरिएको छ ।
एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको सहकार्यमा तथा नेपाली कलासाहित्य डटकम प्रतिष्ठानद्वारा आयोजित ‘विशेष शान्ति कविता गोष्ठी’मा शान्तिदूत बुद्धलाई सम्झिँदै १३ जना कविहरूले शान्ति कविता सुनाए । कविहरूले कवितामार्फत शान्ति स्थापना र सामाजिक समानताको पक्षमा कविता सुनाएका थिए ।
कविहरू अशेष मल्ल, सुलोचना मानन्धर, किशोर पहाडी, राजेन्द्र शलभ, शशी लुमुम्बू, साम्ब ढकाल, देवकी अभिलाषी, निमेष निखिल, सुनीता खनाल, जीवन खत्री, अमृता स्मृति, केशव सिग्देल र कविता राई गाउँले आ–आफ्ना कविता वाचन गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कवि तथा संस्कृतिविद् तुलसी दिवसले सबैभन्दा कलात्मक भाषिक अभिव्यक्ति नै कविता भएको बताए ।
प्रतिष्ठानका अध्यक्ष कवि तथा निबन्धकार मोमिला जोशीले समाजमा आपसी सद्भाव र प्रेमको अभाव खट्किन थालेको भन्दै प्रेम, सद्भाव र शान्तिका लागि आफ्नो संस्थाले यसप्रकारको कार्यक्रम आयोजना गर्ने गरेको बताइन् ।
कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष एवम् कवि राजेश्वर कार्कीले कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेका थिए ।
प्रतिष्ठानका संरक्षक विमल कोइराला, प्रथम मानार्थ सदस्य एस्पी कोइराला र एनएलजीका मानव संशाधन प्रमुख नौमिनाथ अधिकारीले ‘शान्ति कविता गोष्ठी’को महत्वबारे बोलेका थिए ।
कार्यक्रममा ‘कलाश्री’ साहित्य वार्षिक पत्रिकाको मन्चमा आसिन र दर्शकदीर्घामा रहेका उपस्थित सबैले खामबाट पत्रिका निकालेर विमोचन गरेका थिए भने ई–पत्रिकाको नयाँ अङ्कको पनि लोकार्पण गरिएको थियो ।
विमोचित पत्रिका ‘कलाश्री’ साहित्य वार्षिकमा प्रकाशित रचना मध्ये उत्कृष्ट ठहरिएको बलराम अधिकारीको निबन्ध ‘सुपेरियोरीटी कम्प्लेक्सको टुप्पोबाट’का लागि रु. ११ हजार राशिको ‘एनएलजी कलाश्री सिर्जना पुरस्कार’ पनि प्रदान गरिएको थियो । कार्यक्रमको सहजीकरण कवि तथा सञ्चारकर्मी मणि लोहनीले गरेका थिए ।

Comments