यस्तो छ निर्माता–हलवालाले जेठ ४ बाट पालना गर्नुपर्ने १८ बुँदे सम्झौता
screennepal
प्रकाशित: २०७५, २ जेष्ठ बुधबार
no img

काठमाडौं, २ जेठ । चलचित्र प्रर्दशकको संस्था नेपाल चलचित्र संघ र निर्माताको संस्था नेपाल निर्माता संघबिच १८ बुँदे सहमति भएको छ । निर्माताले चलचित्र नै चल्न नदिने भन्दै आन्दोलनको धम्की दिएपछि यी दुई संघबीच सम्झौता भएको हो ।
चलचित्र संघका अध्यक्ष प्रदीपकुमार उदय र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले हस्ताक्षर गरेको १८ बुँदे सम्झौता पत्रमा आखिर के छ त ? यी १८ वटा बुँदाले निर्माताहरुको समस्या हल गर्छ ? जबकि, निर्माता संघले प्रदर्शकले मनोमानी गरेको भन्दै २०६० सालतिरै सम्झौता गर्न दबाब दिएका थिए । त्यो अहिले बल्ल चलचित्र संघले पूरा गरेको छ । जारी सम्झौता ४ जेठबाट लागू हुँदैछ ।
दुई संघबीच भएको १८ बुँदे सम्झौता पत्र :
१. कुनै पनि चलचित्र घरले आफ्नो हलमा प्रदर्शन गर्ने चलचित्रको ट्रेलर, ब्यानर, पोष्टर र स्टण्डीसमेतको प्रचार–प्रसार समाग्रीको दुई हप्तासम्म निःशुल्क सेवा प्रदान गर्ने÷गराउने ।
२. मल्टिप्लेक्स चलचित्र घरको शेयरको रकम प्रत्येक हप्ता चलचित्र प्रदर्शनपश्चात् वितरकले भ्याट बिल जारी गरेको दुई हप्ताभित्र अनिवार्य भुक्तानी गर्नुपर्नेछ । सिंगल स्टेशनको हकमा चलचित्र उत्रेको दुई हप्ताभित्र भुक्तानी गर्नुपर्नेछ । यो अवधिभित्र भुक्तानी नभएमा संयुक्त कार्यदलले गरेको निर्णयअनुसार हर्जानासहित कारबाही गर्ने गराइने ।
३. चलचित्र घरले आफ्नो चलचित्र घरमा रहेका क्याबिनको हिसाबसमेत उपलब्ध गराउनुपर्ने ।
५. चलचित्र घरले कुनैपनि हलभाडा वा हल खर्चको नाममा खर्च काट्न पाइनेछैन ।
६. उपत्यका भित्रका चलचित्र घरहरुमा टिकट दर २५० वा ३ वा ३ भन्दा बढी चलचित्र भवन रहेको चलचित्र घरलाई मल्टिप्लेक्सको मान्यता दिनेछ । उपत्यकाबाहिरको हकमा टिकट दर रु. २०० वा ३ वा ३ भन्दा बढी चलचित्र भवन रहेको चलचित्र घरलाई मल्टिप्लेक्सको मान्यता दिइनेछ ।
क. मल्टिप्लेक्स चलचित्र घरहरुको नेट शेयर बाँडफाँड पहिलो हप्ता ५० प्रतिशत । दोश्रो हप्ता ४५ प्रतिशत तेश्रो हप्ता ४० प्रतिशत चौथो हप्ता देखि ३५ प्रतिशत वितरक (निर्माता)ले पाउने ।
ख. सिंगल चलचित्र घरको नेट शेयर बाँडफाँड ५०÷५० प्रतिशतको आधारमा हुने ।
ग. उपत्यकाभित्र गोपीकृष्ण मुभिजको गोपी र कृष्ण हल, अष्टनारायणको क र ख, गुण सिनेमाको क, ख र च हल तथा बाराही मुभिजको क हललाई मल्टिप्लेक्स सरहको शेयर बाँडफँड गरिनेछ ।
घ. उपत्यकाबाहिर पोखराको श्रीकृष्ण, बाराही चलचित्र घरको क र ख लाई मल्टिप्लेक्स सरहको शेयर बाँडफाँड गरिनेछ ।
ङ. बुँदा नं ६ मा उल्लेख भए बमोजिम अन्य चलचित्र घरहरुले भौतिक पूर्वाधार पूरा गरेमा मल्टिप्लेक्सको मान्यता हुनेछ ।
७. नेपाल चलचित्र निर्माता संघको आधिकारिक सदस्यलाई नेपाल चलचित्र संघले मान्यता दिइनेछ । नेपाल चलचित्र संघका आधिकारिक सदस्यलाई नेपाल चलचित्र निर्माता संघले मान्यता दिइनेछ ।
८. निर्माता–वितरक तथा वितरक र प्रदर्शक बीचमा चलचित्र प्रदर्शन अगावै अनिवार्य सम्झौता गर्नुपर्नेछ । सम्झौताको नमूना संयुक्त कार्यदलले तयार गर्नेछ ।
९. चलचित्र घरले निर्माता वा वितरकको अनुमतिविना पास जारी गर्न पाइनेछैन । यस सम्बन्धमा विवाद भए कार्यदलमा छलफल गरिनेछ ।
१० यसअघि विभिन्न मितिमा नेपाल चलचित्र संघ र नेपाल चलचित्र निर्माता संघबीच चलचित्र प्रदर्शन सम्बन्धमा भए÷गरिएका सहमति र सम्झौताहरु यो सम्झौताहरु लागु भएपछि स्वतः खारेज हुनेछन् ।

११. सबै निर्माता, वितरक तथा प्रदर्शक अनिवार्य रुपमा पारदर्शी व्यपारमा जानु पर्नेछ ।
१२. चलचित्र निर्माताले वितरकलाई अनिवार्य रुपमा भ्याट बिल दिनुपर्नेछ । वितरकले शेयर रकम लिँदा प्रदर्शकलाई अनिवार्य रुपमा भ्याट बिल दिनुपर्नेछ ।
१३. बक्स अफिस लगाउने सम्बन्धमा दुवै संघको पूर्ण प्रतिबद्धता रहेको छ ।
१४. यो सम्झौता मिति २०७५ साल जेष्ठ ४ गते देखि लागू हुनेछ ।
१५. यो सम्झौताको अवधि २ (दुई) वर्षको हुनेछ ।
१६. डिसिपी फाइल तथा भिपीसी र केडीएमको विषयमा सरोकारवालासँग दुवै पक्षले छलफल गरी निर्णय गरिनेछ ।
१७. यो सम्झौतालाई अक्षरसः पालना गर्ने गराउने विषयमा दुवै पक्षले प्रतिवद्धता व्यक्त गर्दछौँ ।
१८.निर्माता, वितरक र हल सञ्चालकको त्रिपक्षिय सहमतीमा हलमा लागेका फिल्मको टिकट दर तोक्न सकिनेछ ।

Comments