मिस नेशनल आईकन २०१८ : ब्राइट र ‘ड्याटशन’बीच सम्झौता
screennepal
प्रकाशित: २०७५, २५ बैशाख मंगलवार
no img

काठमाडौं, २५ बैशाख । यस वर्ष पनि ‘मिस नेशनल आईकन’ शीर्ष विजेताले कार पुरस्कार पाउने भएकी छन् । ‘ड्याटशन’ कारले टाइटल स्पोन्सर गर्ने भएपछि विजेताले कार पाउने पक्का भएको हो ।
‘मिस नेशनल आईकन–२०१८’को आवेदन धमाधम लिइरहेका बेला मंगलबार आयोजक संस्था ब्राइट इन्टरटेनमेन्टका अध्यक्ष तथा गायक धनीराम राई र ‘ड्याटशन’ कारका असिष्टेन्ट जनरल मेनेजर ज्ञानेन्द्र चाँदबीच ‘टाइटल स्पोन्सर’का लागि सम्झौता भएको छ । सो सम्झौतापछि अब ‘मिस नेशनल आईकन’ विजेताले सो कम्पनीको कार उपहार पाउनेछिन् ।
‘टाईटल स्पोन्सर’का लागि ड्याटशन’सँग सम्झौता गरेपछि अध्यक्ष राईले भने, ‘यसपटक ड्याटशन मिस नेशनल आईकन हुने भएको छ ।’
कार्यक्रमको यो दोस्रो संस्करण हो । पहिलो संस्करणम पनि विजेतालाई ड्याटशन कम्पनीकै कार पुरस्कार दिइएको थियो भने फस्ट रनरअपलाई स्कुटी र सेकेण्ड रनरअपलाई नगद ५० हजार प्रदान गरिएको थियो । त्यसपछि चर्चामा आएको ‘मिस नेशनल आईकन’ ले यसपटक शीर्ष विजेतालाई ड्याटशनकै कार प्रदान गर्ने भएको छ भने यसपटक चौथो हुनेलाई समेत नगद पुरस्कार दिने आयोजकले जनाएको छ ।
कार्यक्रमका संयोजक तथा हाँस्य कलाकार गणेश इशाराका अनुसार यसपटक धरान, चितवन, पोखरा र काठमाडौंमा अडिसन लिइँदैछ ।
इच्छुक युवतीले राजधानीका लागि रातोपुलस्थित रक हाउस क्याफे र महाराजगञ्जस्थित ब्राइट इन्टरटेनमेन्टको कार्यलयबाट आवेदन दिन सक्ने जनाइएको छ ।
‘मिस नेशनल आईकन’मा सहभागी हुनका लागि न्युनतम शिक्षा एसएलसी र ५ फिट २ इन्च उचाईको अविवाहित हुनुपर्ने आयोजकको प्रावधान रहेको छ । कार्यक्रमको अन्तिम प्रतिस्पर्धा आउँदो ३२ असारमा राजधानीमा हुने अध्यक्ष राईले बताए ।

Comments