फिल्मका निर्माताहरु कडा आन्दोलनमा उत्रने
screennepal
प्रकाशित: २०७५, २२ बैशाख शनिबार
no img

काठमाडौं । २०६० सालमा निर्माता संघ र चलचित्र संघबिच भएको सम्झौताको बुँदा नम्बर १ मा काठमाडौं उपत्यकामा चलचित्र प्रदर्शन पश्चात् उठेको कूल रकममा भ्याट कट्टा गरि बाँकी रकममा फिल्म हलको भौतिक सुविधा, व्यापार, ठाउँ तथा क्षेत्र आधारमा निर्माता र वितरकले ५५ देखि ६० प्रतिशत र प्रदर्शकले ४० देखि ४५ प्रतिशतसम्मको दरले लिने दिने सहमती भएको थियो ।

तर सो सहमती चलचित्र संघका सदस्य रहेका ठूला हलले नै उल्लंघन गरेको र यसको देखासिकी गर्दै अन्य हलहरुले पनि सम्झौतालाई उल्लंघन गर्न थालेको निर्माता संघको भनाई छ ।

फिल्मका निर्माताहरु कडा आन्दोलनमा उत्रने भएका छन् । निर्माता संघ र चलचित्र संघबीच भएको सम्झौता अहिलेसम्म कार्यन्वयन नभएको भन्दै निर्माताहरु आन्दोलनमा उत्रने भएका हुन् ।

शुक्रवार नेपाल चलचित्र निर्माता संघको संघर्ष समितिका संयोजक रोज राणाको अध्यक्षतामा बसेको बैठकले विभिन्न ३ बुँदे आन्दोलनको कार्यक्रमहरु घोषणा गरेको हो।

संघर्ष समितिले तय गरेको आन्दोलनका कार्यक्रम अन्तर्गत जेठ १ गते सम्पूर्ण फिल्मकर्मी विभिन्न हलहरूमा कालोपट्टि बाँधेर उपस्थित हुनेछन् । जेठ २ गते चलचित्र बिकास बोर्डमा कुनै पनि फिल्म सेन्सर नगर्नका लागि दबाब दिँदै धर्ना बस्ने कार्यक्रम रहेको छ ।

साथमा जेठ ४ गतेदेखि सम्पूर्ण हलमा फिल्म प्रदर्शनमा रोक लगाइने निर्माता संघका महासचिव समेत रहेका रोज राणाको भनाई छ ।

Comments