लिम्बू मौलिक चलचित्र ‘केः’ अर्थात ‘च्याब्रुङ’ र सार (फोटो फिचरसहित)
screennepal
प्रकाशित: २०७४, १४ चैत्र बुधबार
no img

काठमाडौं, १४ चैत । लिम्बू अर्थात याक्थुङ समुदायको मौलिक बाजा ‘केः’मा आधारित चलचित्र निर्माण भएको छ । ‘केः’ अर्थात ‘च्याब्रुङ’लाई लिम्बू समुदायले राष्ट्रिय बाजाको रुपमा लिने गरेका छन् । यसैलाई अझ प्रवद्र्धन गर्ने हेतुले चलचित्र ‘केः’ निर्माण गरिएको निर्माणपक्षको भनाइ छ ।


चलचित्र ‘केः’को पाँचथरको विभिन्न स्थानमा छयांकन छायांकन गरिएको छ । सागर केरुङको लेखन तथा निर्देशन रहेको यस लिम्बू मौलिक चलचित्रको निर्माता टाइसन केरुङ रहेका छन् भने प्रस्तुतकर्ता बुद्धिराज लिम्बू रहेका छन् ।
यस चलत्रिमा गायिका सुनिता सुब्बाले स्वर दिएकी छन् । चलचित्र ‘केः’मा संगीत प्रेम पन्दाक, छायांकन सञ्जय आचार्य, ड्रोन अपरेटर मेगराज मगराती, शृंगार अनुपा नेम्बाङ, सहायक निर्देशक सन्देश सुब्बा र मुख्य साहायक निर्देशक डीआर हाङसरुम्बा रहेका छन् ।


माता पाथिभरा फिल्म प्रालिको ब्यानरमा निर्मित यस चलचित्रमा मधु केरुङ, बबिता फोम्बो, रुपा आङबुहाङ, प्रेम ओझा, मनकुमार केरुङ, सुक्मिता केरुङ, सुदर्शन थेबे, कमल घिमिरे, अप्सरा न्यौपाने, संघर्ष खतिवडा, संगीता लावती, दिपक खनाललगायतका कलाकारले अभिनय गरेका छन् । यस चलचित्रलाई आउँदो जेठ रिलिज गर्ने लक्ष्य लिएको निर्माणपक्षले जनाएको छ ।

वास्तवमा केहो ‘केः’?

‘केः’ अर्थात्र च्याब्रुङ याक्थुङ जातिको पर्यायवाची शब्द बनेको छ । याक्थुङ लिम्बूभन्दा ‘केः’ र केलाङ सम्झिन्छन् । रुखको मुढा खोपेर देब्रेपट्टि गाई वा गोरुको र दाहिनेपट्टी बाख्राको छालाले मोरेर बनाइन्छ ‘के’ । यसको उत्पति सन्दर्भमा बिभिन्न किसिमका जनश्रुतिहरु पाइन्छ ।


मुन्धुमअनुसार सृष्टिको उत्पतिदेखि मानव सभ्यताको विकासक्रम सँगसँगै सोदुगेन लेःमुहाङको पालादेखि सुरु भएको पाइन्छ । यो बाजा बजाउँदा दाहिने पट्टीबाट ‘च्याङ’ र देब्रेपट्टी ‘ब्रुङ’ साङला (ध्वनि) निस्किन्छ । लिम्बू समुदायमा बिबाह, घर निर्माण गरि सर्ने क्रममा तथा ताम्भुङजा, बिभिन्न पर्व र उत्सवहरुमा समेत केलाङ नाचिन्छ । केलाङ नाच्दा गाइने गीतलाई ‘केसाम’ भनिन्छ । केसाममा प्रगति र उन्नतिको आशिर्वाद दिइन्छ । केसाम सोदुगेन लेःमुहाङको छोरा पाजईबाको पालायता सुरु भएको पाइन्छ।
मुन्धुमअनुसार विश्वको पहिलो ईन्जिनियर पाजाईबाले घर बनाएपछि घरमा उक्त थक्थामा अनुष्ठान नगर्दा घरमा अनिष्ट हुने, घर भत्किरहने, किच्याएर मार्ने लगायतका अनिष्टहरु देखा पर्न थाले । त्यसपछि नयाँ घर बसाईंमा केसाममार्फत उन्नति र प्रगतिको आशिर्वाद माग्न र दिन थालियो । पहिले पहिले बस्तीहरु थिएन । घना जंगलहरु मात्र थिए । त्यतिबेला जंगली जनावरबाट बच्न च्याब्रुङ बजाउदै हिड्दा जंगली जनावरहरु भाग्ने गर्दथे । जनावरहरु भागेको र नाचेको जस्तै बजाउन र नाच्न थालेयता च्याब्रुङमा बिभिन्न जीवजन्तुहरुको नाच पनि नाच्ने गरिन्छ ।

Comments