जनान्दोलन दिवसमा बहुभाषिक साहित्य महोत्सव हुँदै
screennepal
प्रकाशित: २०७४, १२ चैत्र सोमबार
no img

काठमाडौं, १२ चैत । जनआन्दोलन दिवसको अवसरमा ३ नं प्रदेशस्तरीय बहुभाषिक नेपाल साहित्य महोत्सव आयोजना गरिँदैछ । प्रजातन्त्र पुनःस्थापनाका लागि २०४६ साल फागुन ७ गतेदेखि शुरु भएको जनान्दोलन चैत २६ गते सफल भएको थियो ।
तत्कालीन राजा वीरेन्द्रले दलमाथि लगाइएको प्रतिबन्ध फुकुवा गरी प्रजातन्त्र पुनःस्थापना भएको घोषणा गरेका थिए । त्यसै दिनको सम्झनामा राष्ट्रिय शहीद स्मारक निर्माणस्थल गोकर्णेश्वरको यज्ञडोल (जगडोल) सामुदायिक वन क्षेत्रमा महोत्सव आयोजना गर्न लागिएको हो ।
कार्यक्रममा बहुभाषिक कविगोष्ठी, पुस्तक तथा पत्रपत्रिका प्रदर्शनी, विद्यालयस्तरीय सांस्कृतिक, लोक तथा राष्ट्रिय नृत्य एवं झाँकी प्रदर्शन, निःशुल्क स्वास्थ्य शिविर, पोषणसम्बन्धी जनचेतनामूलक कार्यक्रमलगायत गरिने कार्यक्रम संयोजक गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ले बताए ।
महोत्सव सम्पन्न गर्न सांसद कृष्ण राई र प्रदेशसभा सदस्य रामेश्वर फुयाँलको संयोजकत्वमा ५१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ ।
महोत्सवको आयोजक संस्थामा शहीद स्मारक, गोकर्णेश्वर–कागेश्वरी मनोहरा–शंखरापुर र बूढानीलकण्ठ नगरपालिका, अभिनव साहित्य समाज, सुरभि साहित्य प्रतिष्ठान, रमेश विकल साहित्य प्रतिष्ठान, भैरव पुरस्कार गुठीलगायत रहेको आयोजक समिति सदस्य एवं स्मारकका अध्यक्ष सुदर्शन सिग्देलले जनाए ।
मन्त्रिपरिषद्ले विसं २०६४ जेठ ११ गते गोकर्णेश्वरमा पहिलो शहीद लखन थापादेखि विसं २०६२÷२०६३ सम्मका शहीदको सम्झनामा स्मारक रहने गरी राष्ट्रिय शहीद स्मारक निर्माण गर्ने निर्णय गरेको थियो ।
यज्ञडोल सामुदायिक वनको ६५० रोपनी क्षेत्रफलमा शहीद संग्रहालय, पुस्तकालय, निजामती उद्यान र घुन्सामा हेलिकप्टर दुर्घटनामा परी निधन भएका तत्कालीन वनराज्यमन्त्री गोपाल राई, संरक्षणविद् डा हर्क गुरुङलगायतको सम्झनामा पनि स्मारक निर्माण गर्ने निर्णयअनुसार हाल काम भइरहेको छ ।
स्मारक निर्माण भएपछि शहीदढोकाका चार शहीदको शालिक पनि गोकर्णेश्वरमै राखी शपथ लिनुअघि राष्ट्राध्यक्ष एवं सरकार प्रमुख शहीदप्रति श्रद्धाञ्जलि व्यक्त गर्ने स्थल बनाउने सरकारको तयारी छ ।

Comments