झापाबाट ‘नाईँ नभन्नू ल–५’ सुरु | को हुन् अभिषेक र सेड्रिना ?
screennepal
प्रकाशित: २०७४, १२ चैत्र सोमबार
no img

काठमाडौं, ११ चैत । चलचित्र ‘नाई नभन्नु ल–५’ को छायांकन सुरु भएको छ । यो चलचित्र झापाको बिर्तामोडबाट सोमबारदेखि सुटिङ आरम्भ गरिएको हो । यस चलचित्रलाई झापा र इलामका रमणीय स्थानमा खिचिने निर्माणपक्षले जनाएको छ ।
सुटिङको पहिलो दिन अभिषेक नेपाल र स्वस्तिमा खड्काले सट दिएका थिए । कान्तिपुर फिल्म एकेडेमीमा पढ्दै गर्दा निर्देशक विकास आचार्यको नजरमा परेका अभिषेकले यही फिल्मबाट डेब्यु गर्न लागेका हुन् ।


अभिषेक फिल्ममा स्वस्तिमाको जोडीको रुपमा देखिनेछन् । आफ्ना हरेक चलचित्रबाट नयाँ नयाँ कलाकारलाई जन्माउँदै आएका आचार्यले यसपटक अभिषेकसँगै सेड्रिना शर्मालाई इन्टि गर्दैछन् । झापामै मूलघर भएकी सेड्रिनाले अनुभव रेग्मीको जोडीको रुपमा अभिनय गर्नेछिन् ।
निर्देशक आचार्यले झापाको बिर्तामोडमा ३ दिन र इलाममा २५ दिन सुटिङ गरी काठमाडौं फर्कने जानकारी गराए । ‘काठमाडौंमा हप्ता दिनको सुटिङपछि फिल्म सकिन्छ,’ आचार्यले भने, ‘कथामा पहिलाका शृंखलाको स्वाद भए पनि यो पटक प्रस्तुतिमा धेरै मेहनत गरिएको पाउनु हुनेछ ।’ आचार्यले फिल्म भदौ ८ मा ल्याउने तयारी गरेको जानकारी गराए ।
‘नार्इँ नभन्नू ल’को परिवारमा योपटक दीलिप रायमाझी र केकी अधिकारी थपिएका छन् । दोस्रो शृंखलादेखि जोडिएकी प्रियंका कार्कीले यो भागमा पनि निरन्तरता पाएकी छन् । आचार्यले केकीसँग काम गर्ने अवसर बल्ल जुरेको बताए ।
नार्इँ नभन्नू ल ३’मा पनि केकीलाई खेलाउन चाहेका थियौं तर विविध कारणले मिलेको थिएन । यो पाला अवसर जुरेको छ,’ आचार्यले भने । केकीले चैतको तेस्रो साताबाट इलामको सेड्युल ज्वाइन गर्नेछिन् ।
विकास आचार्य र सामीप्यराज तिमल्सेनाको लेखन रहेको फिल्मलाई पुरुषोत्तम प्रधानले खिच्दैछन् भने फिल्मको संगीत बसन्त सापकोटाले तयार पारेका छन् ।

 

Comments