विमान दुर्घटनामा निधन भएकाहरुको स्मरणमा दीप प्रज्वलन
screennepal
प्रकाशित: २०७४, २९ फाल्गुन मंगलवार
no img

काठमाडौं, २९ फागुन । त्रिभुवन अन्तर्राष्ट्रि«य विमानस्थलमा सोमबार भएको युएस बंगला विमान दुर्घटनामा परी निधन भएकाको स्मरणमा मंगलबार साँझ माइतीघरस्थित मण्डलामा दीप प्रज्वलन गरिएको छ ।

स्वास्थ्यकर्मीको संगठन सक्षम फाउण्डेशन नेपालले आयोजना गरेको सो कार्यक्रममा दुर्घटनाप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिएको छ । सोही दुर्घटनामा परी घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरिएको छ । फाउण्डेशनमा चिकित्सक, नर्सलगायत स्वास्थ्यकर्मी संलग्न छन् । उनीहरुले विभिन्न समयमा दैवी प्रकोप, मानवीय विपद्, दुर्घटनामा सर्वसाधरणलाई उद्धारपछिको स्वास्थ्य उपचार, औषधि वितरण, मनोवैज्ञानिक परामर्शलगायत सहयोग निःशुल्क उपलब्ध गराउँदै आएको छ ।
फाउण्डेशनका अध्यक्ष डा सिके सिंहले उक्त दुर्घटनामा परी ठूलो संख्यामा चिकित्सकको अध्ययन पूरा गरेका विद्यार्थीको मृत्यु भएकामा चिन्ता व्यक्त गर्दै त्यसबाट भएको मानवीय क्षतिले मुलुकको अपुरणीय नोेक्सान भएको बताए । सो दुर्घटनामा मृत्यु हुनेको संख्या ५० पुगेको छ ।

Comments