लु सुनका निबन्धमाथि राजधानीमा बहस
screennepal
प्रकाशित: २०७४, २३ फाल्गुन बुधबार
no img

काठमाडौं, २३ फागुन । आधुनिक चिनियाँ साहित्यका पिताका रुपमा चिनिएका प्रसिद्ध साहित्यकार लु सुनका निबन्धमाथि राजधानीमा बहस गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा शनिबार देवकोटा–लु सुन प्रज्ञा–प्रतिष्ठानले आयोजना गरेको ‘लु सुनका निबन्धः सामाजिक तथा राजनीतिक महत्व’ विषयक अन्तक्र्रिया कार्यक्रमका वक्ताले लु सुनका निबन्धले अन्तर्राष्ट्रिय रुपमै सामाजिक चेतना अभिवृद्धि गर्न योगदान पुगेको बताए ।
कार्यक्रमको उद्घाटन गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले लु सुनका कृतिले समाज रुपान्तरणमा योगदान पु¥याएको बताए । उनले भने, ‘चिनियाँ साहित्यका पिता भनेर चिनिने साहित्यकार लु सुन सामाजिक रुपान्तरणका अभियन्ताका रुपमा पनि स्थापित उनका ग्रन्थ नेपाली अध्येताका लागि उपयोगी रहेका छन् ।’

साहित्यको माध्यमबाट दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ तुल्याउन प्रतिष्ठानले आफ्नो भूमिकालाई बढाएको उप्रेतीले बताए ।
कार्यक्रममा देवकोटा लु सुन प्रतिष्ठानका अध्यक्ष निनु चापागाईंले नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्ध विस्तारमा प्रतिष्ठानले विभिन्न गतिविधि गर्दै आएको बताए । उनले भने, ‘लु सुनका कृतिले समाजलाई उज्यालो दिशातिर लैजान मद्दत गरेको छ । सिमान्तकृत वर्गको पक्षमा लु सुनले कलम चलाएर उनीहरुप्रति सामाजिक रुपमै न्याय गरेका छन् ।’
चीनको आधुनिक साहित्यका प्रवद्र्धक लु सुन चिनियाँ सांस्कृतिक क्रान्तिको रुपान्तरण तथा नेपालको कम्युनिष्ट आन्दोलनका प्रेरक व्यक्तित्व समेत रहेको धारणा चापागाईंले राखे ।
लु सुन सङ्ग्रहालय बेइजिङका कार्यकारी निर्देशक हुवाङ्ग छिआओसेङ्गले लु सुनको साहित्यिक तथा राजनीतिक व्यक्तित्वका बारेमा बताउँदै भने, ‘लु सुनका कृतिले समाजमा जागरण ल्याउन महत्वपूर्ण भूमिका खेलेका छन् ।’ त्यस्तै उक्त कार्यक्रममा चिनियाँ विज्ञहरु वाङ जियापिङ, झाओ जिनहु, दोङ विन्गुये र जियाङ यिछिनले लु सुनका सामाजिक, राजनीतिक तथा साहित्यिक पक्षबारे उल्लेख गर्दै उनको सिर्जनात्मक निबन्धले चीनको सांस्कृतिक क्रान्तिलाई अघि बढाउन महत्वपूर्ण योगदान पुगेको बताए ।
सोही कार्यक्रमको अवसरमा ‘लु सुनका शास्त्रीय शैलीका कविताः द्विभाषिक संस्करण’ नामक अनुदित कवितासंग्रहको विमोचन समेत गरिएको थियो । निनु चापागाईं र हुवाङ्ग छिआओसेङ्गले संकलन गरेको लु सुनका कविताको नेपाली अनुवाद सुनील कुमार पौड्यालले गरेका छन् ।
त्यस्तै लु सुनलाई नेपालमा परिचित गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका शान्तदास मानन्धरलाई ५० हजार नगद राशिसहित ‘देवकोटा लु सुन पुरस्कार’ बाट सम्मान गर्ने प्रतिष्ठानका अध्यक्ष चापागाईंले घोषणा गरे । उक्त पुरस्कार आगामी कार्यक्रममा प्रदान गरिने संस्थाले जनाएको छ ।

 

Comments