पहाडी र हिमाली क्षेत्रमा होली मनाइदै, मौलिकता हराउँदै
screennepal
प्रकाशित: २०७४, १७ फाल्गुन बिहीबार
no img

बागलुङ, १७ फागुन । वसन्त ऋतुको रमाइलो पर्व फागु (होली) को उल्लास हिमाली र पहाडी जिल्लामा बिहानैबाट छाएको छ ।
बागलुङ पनि होलीको रमझमबाट अछुतो छैन । रङको पर्व भनेर चिनिने होलीको उत्साह सर्वत्र छाएको छ । विशेष गरी युवापुस्ता होलीको ‘मुड’ मा देखिन्छन् । पसलमा रङ, खेलौना, होलीमैत्री पोशाक किन्नेको भीड छ । पर्वको छेकोमा विभिन्न संघसंस्थाले मेला, उत्सव आयोजना गरेका छन् । होलीलाई मर्या्दित बनाउन सुरक्षा प्रबन्ध मिलाइएको छ ।
प्रेम र भाइचाराको प्रतीक मानिने होली पर्वको असर शहर हुँदै गाउँसम्म पुगेको छ । होलीलाई विशेष गरी शहरी युवाले धुमधामसँग मनाउने गरेका छन् । हिन्दू परम्परामा प्राचीन पर्वको ठाउँ ओगटेको होली एकापसमा रङ खेलेर मनाउने चलन छ । आधुनिकताले पर्वको मौलिकतामा ठेस नपुगेको पनि होइन । तर पनि, होली मान्ने प्रवृत्ति र उल्लास भने वर्षेनी थपिँदो छ । संस्कृतिकर्मी प्रेम छोटाको अनुभवमा होलीको असली रुप फेरिँदै गएको छ । ‘आधुनिकताले केही अन्तर पारेको छ, मौलिकता ओझेलमा छ’ छोटाले भने ।
होली पर्वलाई जगेर्ना गर्ने नयाँपुस्ताको आफ्नै शैलीप्रति भने छोटा पनि सन्तुष्ट हुनुहुन्छ । पर्वमा गरिने तडकभडक र अबाञ्छित क्रियाकलापलाई रोक्नुपर्ने उहाँको सुझाव छ । होलीलाई परम्परागत शैलीमै मनाउन नसके पनि पहिचानलाई मर्न नदिने नेपाल भाषा मंका खल बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले बताउनुभयो । खलले वर्षौंदेखि फागु पर्वलाई संस्थागत रुपमा मनाउँदै आएको छ । ‘बीचमा हराएको चलनलाई यसपालि हामी जोड्दैछौँ, मौलिकता जोगाउने हाम्रो ध्येय छ’ अध्यक्ष राजभण्डारीले भने ।

फागुमा पुजिने भगवानलाई भोक दिने, पूजाआजा गर्ने, फागुको गीत गाउँदै फर्कने चलन पछिल्लो समय हराएको थियो । पुरानै परम्पराअनुसार यो वर्ष बागलुङ भगवती मन्दिर र गणेश मन्दिरमा भोकसहित विशेष पूजाआजा गरिने भएको छ । पूजाआजापछि बागलुङ नगरपालिका–३ नौबिसेटोलको भोटे बारीमा सामूहिक भोज हुने अध्यक्ष राभजण्डारीले बताए ।

Comments