रातो सारीमा बेहुलीझै सजिएर अन्तिम विदाइ भइन् श्रीदेवी
screennepal
प्रकाशित: २०७४, १६ फाल्गुन बुधबार
no img

मुम्बइ, १६ फागुन । गएको शनिबार दुबईमा निधन बलिउडकी अभिनेत्री श्रीदेवीलाई राजकीय सम्मान दिइएको छ । ५४ वर्षीया श्रीदेवीको पार्थिव शरीरलाई सेतो फुलले सजाइएको ट्रकमा राखेर शवयात्रा गराइएको थियो । शवयात्रा ५ किलोमिटरसम्म गरिएको थियो । श्रीदेवीलाई रातो रंगको सारीमा बेहुलीझै सजाइएको थियो र भारतीय राष्ट्रिय झण्डाले बेरिएको थियो ।


भारतीय सञ्चारमाध्यमले जनाएअनुसार श्रीदेवीलाई मनपर्ने रंग सेतो थियो । उनले आफ्नो परिवारका सदस्य तथा निकटस्थलाई आफना अन्तिम क्षणमा सबैकुरा सेतो हुनुपर्ने इच्छा व्यक्त गरेकाले यसो गरिएको जनाइएको छ । श्रीदेवीलाई अन्तिम श्रद्धाञ्जली दिन हेमामालिनी, ईशा देओल, सुष्मिता सेन, ऐश्वर्या राय, अक्षय खन्ना जस्ता सेलिब्रिटीहरु पुगेका छन् ।

श्रीदेवीको शवयात्रामा सहभागी हुन जाँदै हेमा मालिनी ।

त्यस्तै, माधुरी दीक्षित, जया पर्दा, जया बच्चन, सुभाष घई, करण जौहर, अजय देवगण, काजोल, ज्याकलिन फर्नाडिज पनि श्रीदेवीलाई श्रद्धाञ्जली दिन पुगेका थिए । श्रद्धाञ्जली दिन पुगेका कलाकार तथा उनका फ्यानका आँखा रसाएको थियो । एक समय लगातार हिट फिल्म दिएकी श्रीदेवी कुनै समयकी सुपर स्टार हुन्, जो पछिल्लो समयसम्म चर्चित नै थिइन् ।
दुबईको अस्पतालले पोस्टमार्टम रिपोर्ट दिन ढिला गरेपछि उनको पार्थिव शरीरलाई मंलबार अबेर राति मात्र मुम्बइ ल्याइएको थियो ।
‘मृत्यु स्वभाविक रुपमा भएको होइन’ भन्दै भारतीय एवं अन्तराएष्ट्रि«य सञ्चारजगतले आशंकासहित समाचार प्रकाशन तथा प्रशारण गरेपछि उनको शव परिवारजनलाई जिम्मा लगाउन दुबई अस्पतालले ढिला गरेको बताइएको छ ।
सोमबार दुबई सरकारले श्रीदेवीको मृत्यु दुर्घटनाबस ‘वाथ टव’मा डुबेर भएको जानकारी गराएको थियो । तर, उनको पार्थिव शरीरलाई मुम्बई ल्याएपछि भारतीय सिनेजगतका वरिष्ठ कलाकारलगायत उनका शुभचिन्तकले श्रद्धाञ्जलीका लागि शव राखिएको स्थानमा पुगेका थिए ।

श्रीदेवीको शवयात्रामा सहभागी हुन जाँदै सर्वसाधाराण ।

श्रीदेवीलाई अन्तिम श्रद्धाञ्जली दिन बलिउडका अधिकांश अभिनेता, अभिनेत्रीहरु, निर्देशक तथा निर्माताहरु पुगेका थिए ।
श्रीदेवीको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलि अर्पण गर्न मुम्बइको एक स्थानीय क्लबमा राखिएको थियो । शवयात्रा दिउँसो २ बजेबाट सुरु गरिएको थियो ।
संयुक्त अरब इमिरेट्समा आफन्तको वैवाहिक कार्यक्रममा सहभागी हुन गएका बेला शनिबार राति हृदयाघातका कारण उनको मृत्यु भएको जनाइएको छ । श्रीदेवी भारतको उच्च पदक मानिने पद्मश्रीबाट सुशोभित थिइन् ।

Comments