ताप्लेजुङमा सौचालय बनाउन हङकङमा रुकमानको दमदार प्रस्तुती
screennepal
प्रकाशित: २०७४, १६ फाल्गुन बुधबार
no img

काठमाडौं, १६ फागुन । गायक तथा मोडल रुकमान लिम्बूले यसपटक पनि हङकङमा रहँदै आएका नेपालीहरुलाई जुरुक्कै उचाले । पहिलोपटक हङकङ जाँदा त्यहाँका दर्शक एवं श्रोताको मन र ढुकढुकीमा बस्न सफल भएका रुकमानले यसपाली उसैगरी आफूसँगै नचाउन सफल भए ।


अघिल्लो र यसपालीको कार्यक्रममा केही भिन्नता थियो । ताप्लेजुङमा सार्वजनिक सौचालय निर्माणका लागि सहयोगार्थ ताप्लेजुङ समाज हङकङले आयोजना गरेको कार्यक्रममा रुकमानसँगै याक्थुङ हाक्पारे पालम यसङकी अध्यक्ष तथा मोडल रुपा आङबुहाङ,  मोडल रञ्जिता लिम्बू, नवोदित गायिका पुर्णिमा लामा र हास्य कलाकार भरतमणि पौडेल पनि सहभागी थिए । कार्यक्रम सञ्चालिकाको रुपमा रुपा त्यहाँ पुगेकी हुन् । तर, उनले केही नृत्य पनि गरिन् ।


कार्यक्रममा रुकमानले आफ्ना चर्चित गीतहरु सुनाउँदा हङकङेली दर्शक जुरुक्कै उठेका थिए । मा–ताई हलमा आयोजना भएको कार्यक्रममा दर्शकको बाक्लो भीड थियो, जहाँ रुकमानको गीतमा रमाइरहेका दर्शक रञ्जिताको नृत्यले थप उचालिएका थिए ।


अघिल्लो पटकको आफ्नो सांगीतिक हङकङयात्रा जस्तै योपाली पनि रुकमानले एकल शो गर्न भ्याए । रुकमान सेरेङ चोङबाङ परिवार हङकङको आयोजनामा गएको २१ फेबु्रअरीमा जोर्डनस्थित याक एण्ड यति रेष्टुरेण्टमा एकल शोमा प्रस्तुत भएका थिए । दर्शक तथा श्रोताको बाक्लो उपस्थिति रहेको शो कार्यक्रममा रुकमानले आफ्ना चर्चित गीत त गाए नै, उनले अरु केही गीत पनि प्रस्तुत गरेका थिए ।


रुकमान पछिल्लो समय गायनसँगै मोडलिङमा पनि उत्तिकै व्यस्त हुँदै आएका छन् । ‘हाक्पारे पालम ख्याली’ जस्ता चर्चित गीतका गायक र मोडललाई आफ्नै अगाडि पाउँदा त्यहाँ रहँदै आएका दर्शक पनि दंग भए । कार्यक्रममाबाट फर्केपछि रुकमानले भने, ‘कार्यक्रम सोचेभन्दा राम्रो भव्य भएको थियो ।’


सामाजिक कार्यत्रका लागि सांगीतिक प्रस्तुती दिन पाउँदा खुसी लागेको बताउँदै रुकमानले भने, ‘हङकङमा रहेका नेपाली दाजुभाई तथा दीदीबहिनी एवं आम श्रोताप्रति म अभारी छु । उहाँहरुले गर्दा नै हङकङमा मैले आफ्नो गीतसंगीत प्रस्तुत गर्ने अवसर पाउँदै आएको छु ।’

 

Comments