“ब्लाईनड रक्स” को रेड कार्पेट प्रिमिएरमा हङकङमा रुवाबासी
screennepal
प्रकाशित: २०७४, ९ फाल्गुन बुधबार
no img

स्क्रिननेपाल डटकम :
फाल्गुन १८ गते देखि देशभर प्रदर्शनमा आउन लागेको चलचित्र “ब्लाईनड रक्स” ले गत फेब्रुअरी १८ मा हङकङमा भब्य तरिकाले रेड कार्पेट प्रिमिएर शो गरेको छ । प्रिमिएर शो मा सोच भन्दा बढी दर्शकहरुको उपस्थिति रहेको खबर छ । हुन त उक्त प्रिमिएरको लागि लामो समय देखि नेपाल चलचित्र एसोसिएसन, हङकङले तयारी गरिरहेको थियो । उक्त प्रिमिएरकै लागि भने फेब्रुअरी १८ अगाडी नै चलचित्रका निर्माता निकेश लिम्बु बेलायत देखि हङकङ पुगेका थिए । चलचित्र “ब्लाईनड रक्स” को प्रिमिएर सफल भएको खबर हङकङ देखि आईरहेको छ ।



चलचित्र हेरेर दर्शकहरुले पनि अत्यन्तै राम्रो प्रतिक्रिया दिएको जानकारी प्राप्त भएको छ । हुन त यो कुरालाई नौलो भने मान्न सकिदैन किन भने यस अगाडी पनि बेलायतमा भएको चलचित्रको प्रिमिएरमा बिदेशी तथा नेपाली दर्शकहरुले चलचित्रको औधि प्रशंसा गरेका थिए । हङकङमा भने चलचित्रले दर्शकहरुलाई रुवाएको खबर छ । यसको अर्थ चलचित्रले धेरै दर्शकहरुको भित्रि मन छोएको छ । एक दृष्टिबिहीन युवती सृष्टि केसीको वास्तविक जीवन संगर्षको कथामा तयार भएको चलचित्रले सबैलाई प्रेरणा दिएको उपस्थित दर्शकहरुको भनाई रहेको छ । एक फरक सिनेमा हेर्न पाएको र केहि गहकिलो संदेश पनि यस सिनेमाबाट प्राप्त भएको धेरैको मुखबाट सुनियो ।



यता चलचित्रका निर्माता निकेश लिम्बु पनि दर्शकहरुको प्रतिक्रिया देखि दंग छन् । आफुलाई अझ राम्रो चलचित्र निर्माण गर्न प्रेरणा र हौसला मिलेको उनको भनाई रहेको छ । दर्शकहरुको उपस्थिति र प्रशंसा सहितको प्रतिक्रियाले आफुलाई निकै खुशी तुल्याएको र आफुले राम्रो चलचित्र दर्शकहरुलाई पेश गर्न सकेको कुरा आफुलाई अनुभूति भएको उनले उल्लेख गरेका छन् । उनि अबको केहि दिनमा नै नेपाल आउदैछन् । नेपालको प्रदर्शनको तयारीको लागि उनि नेपाल आउन लागेका हुन् । यस्तै फेब्रुअरी २३ मा मकाउमा पनि चलचित्र “ब्लाईनड रक्स” को रेड कार्पेट प्रिमिएर हुदैछ ।



चलचित्र “ब्लाईनड रक्स” मा नायिका बेनिषा हमालले दृष्टिबिहीन युवती सृष्टि केसीको भूमिका निर्वाह गरेकी छिन् । उनको अभिनयको पनि यति बेला सर्वत्र चर्चा परिचर्चा भईरहेको छ । नेपालमा के कस्तो हुने हो त्यो भने हेर्न बाँकी नै छ । चलचित्रमा बेनिशाको अलावा अर्पण थापा, गौरी मल्ल, अनिल केशरी शाह, रितेश चाम्स र बसन्त भट्ट लगाएतका कलाकारहरुको अभिनय रहेको छ । त्यसै गरि चलचित्रमा नवराज कृष्ण थापाको छायांकन र अर्जुन जिसीको सम्पादन रहेको छ । यस्तै चलचित्रको कथा यम थापा र सुमन उप्रेती मिलेर तयार गरेका हुन् । यस्तै चलचित्रको निर्देशन मिलन चाम्सले गरेका हुन् भने निर्माण निकेश लिम्बुले गरेका हुन् । यस्तै गिरीराज घिमिरे चलचित्रको मुख्य सहायक निर्देशक हुन् ।

Comments