संगीतमा व्यस्त बन्दै एपी
screennepal
प्रकाशित: २०७४, ८ फाल्गुन मंगलवार
no img

काठमाडौं, ८ फागुन । गायक एपी शेर्पा यसपटकको ग्याल्पो ल्होसारमा सांगीतिक प्रस्तुति दिन धरानबाट काठमाडौं आईपुगे । शेर्पा समुदायले बौद्धमा आयोजना गरेको ल्होसार उत्सवमा सेलो, लोक र आधुनिक गीत गाएर दर्शकलाई पनि नचाए ।
धेरै गायक गायिका सांगीतिक क्षेत्रमा चिनिन र व्यस्त बन्न विभिन्न जिल्लाबाट काठमाडौं बसाई सर्छन् तर गायक एपी शेर्पा धरानमै बसेर काठमाडौं र विभिन्न देशमा सांगीतिक प्रस्तुति दिन पुग्छन् । हरेक वर्ष ल्होसारको बेला काठमाडौदेखि युरोप, हङकङ पुग्ने गरेका एपी यसपालि पनि काठमाडौंमा ल्होसारमा गाए लगत्तै बेलायत प्रस्तान गर्ने तयारीमा छन् ।
शेर्पा एसोसिएसन युकेको निमन्त्रणामा फेब्रुवरी २४मा हुने ‘२१४५ खि ल्हो ल्होसार’ कार्यक्रममा गाउने छन् भने एक महिनासम्म विभिन्न कार्यक्रममा सहभागी हुने छन् ।
पूर्वमा बसेरपनि देशविदेशका सांगीतिक कार्यक्रममा व्यस्त एपीले अघिल्लो वर्ष युरोपमा विभिन्न देशमा सांगीतिक कार्यक्रममा गाएका थिए । हालसम्म युरोप, हङकङ, सिंगापुर लगायत दुई दर्जन देशमा आफ्नो गायनकला प्रस्तुत गरिसकेका एपीले युके सांगीतिकयात्रामा गाउन नयाँ गीतहरु समेत तयार पारेको बताए ।
भोजपुरमा जन्मिएका एपी विभिन्न सांगीतिक प्रतिष्पर्धा भिड्दै संगीत क्षेत्रमा प्रवेश गरेका हुन् । ‘सम्झना नै आजभोली आउँदैन रे भन्देउ’ गीतबाट स्रोतामाझ चिनिएका उनि एक दशकयता निरन्तर यहि क्षेत्रमा सक्रिय छन् । उनि भन्छन् ‘संगीतमा ध्यान दिएर लाग्ने हो भने काठमाडौंमै बसिरहनु पर्छ भन्ने छैन । अहिलेको समयमा देशविदेशमा पुग्न सकिन्छ ।’

Comments