कुवेतमा धमाका मच्चाउन जाँदै प्रकृति र सागर
screennepal
प्रकाशित: २०७४, २३ माघ मंगलवार
no img

गायिका प्रकृति थलङ र सागर आलेले कुवेतमा हुने ‘चितवन धमाका–२’ मा धमाका मच्चाउँदैछन् । ‘पूर्वाञ्चल सिंगिङ स्टार–२०७१’की विजेता प्रकृति र ‘नेपाल आइडल’को टप–४ सागर चितवन समाज कुवेतको निमन्त्रणामा सांगीतिक धमाका मच्चाउन जाने भएका हुन् ।
‘नेपाल आइडल’मा सहभागी भई टप–४ मा परेपछि सागर देश–विदेशका कार्यक्रमहरुमा व्यस्त हुँदै आएका छन् भने प्रकृति पछिल्लो समय सांगीतिक क्षेत्रमा चर्चा बटुलिरहेकी छन् । पछिल्लो समयका यी दुई ‘योङस्टार’ कार्यक्रमका लागि बुधबार कुवेत उड्दैछन् ।
आफ्नो गीतमा मोडलिङ समेत गर्दै आएकी गायिका प्रकृतिका अनुसार कार्यक्रम यही ९ फेब्रुअरीमा हुँदैछ । यसअघि हङकङलगायतका देशमा कार्यक्रममा गर्न भ्याइसकेकी प्रकृतिको यो पहिलो कुवेत यात्रा हो ।

कार्यक्रममा सन्दर्भमा प्रकृतिले भनिन्, ‘आशा छ त्यहाँ रहेका नेपाली दर्शक तथा श्रोताको मन जितेरै आउनेछु ।’ प्रकृति र सागरले यसपटकको कुवेत यात्रामा दुई स्टेजमा कार्यक्रम गर्नेछन् । एकदमै छोटो समयका लागि भएपनि दर्शक तथा श्रोताको माया बट्लेर आउने प्रकृति र सागरको विश्वास छ ।

 

Comments