साउन १ गतेबाट बक्स अफिस लागु गर्न चलचित्र विकास बोर्डको निर्णय
screennepal
प्रकाशित: २०७४, १५ माघ सोमबार
no img

स्क्रिननेपाल डटकम :
लामो समय देखि कुरामा मात्र सिमित भएको बक्स अफिस प्रणाली अब नेपाली चलचित्र क्षेत्रमा लागु हुने भएको छ । चलचित्र विकास बोर्डका सदस्य तथा बक्स अफिस कार्यान्वयन समितीका संयोजक नरेन्द्र महर्जनको अध्यक्षतामा बसेको बैठकले प्राविधिकहरुसँगको छलफल पश्चात वर्ष २०७५ को तेस्रो महिनाबाट नेपालमा बक्स अफिस लागु गर्ने निर्णय गरेको हो ।

यस्तै बैठकले बैशाख १ गतेबाट बक्स अफिस प्रणाली परिक्षण गर्ने र साउन १ गतेबाट राजधानी भित्र र माघ १ गतेबाट राजधानी बाहिर बक्स अफिस लागु गरिने जानकारी दिएको छ । त्यसै गरि बैठकले बक्स अफिस जडान गर्ने कम्पनी “व्रेन डिजिट इट सोलुशन” लाई आवश्यक पर्ने हार्डवेयरका सामान तथा इन्टरनेट सेवा वर्ष २०७४ चैत मसान्त भित्र जडान गर्न निर्देशन पनि दिएको छ ।

अहिलेको अवस्था हेर्ने हो भने सुविधा सम्पन्न मल्टिप्लेक्सले आफ्नै किसिमले कम्प्युटर जडित बक्स अफिस संचालन गरिरहेका छन् । तर सिंगल थिएटरमा भने यो प्रयोगमा छैन । बक्स अफिस लागू हुँदा देशभरिको कारोबार एकै ठाउँमा आउँछ । बक्स अफिस कार्यान्वयन समितीको सदस्यहरुमा प्रदीप कुमार उदय, आकाश अधिकारी, कपिल पराजुली र प्रभाकर भट्टराई रहेका छन् । केही वर्ष अघि देखि बक्स अफिस लागु गर्नका लागि माग बढे पनि कार्यान्वयन भने हुन सकेको थिएन ।

अहिले पनि यो प्रणाली जडान गरेर प्रयोगमा ल्याउन त्यति सहज भने देखिदैन । लामो समय देखि चलेको कुरा पटक पटक विवादमा आउँदा पनि पुरा हुन नसक्दा यति बेला धेरैले त यो कुरालाई पनि विश्वास मान्न गार्हो मानिरहेको अवस्था छ । अब यो बक्स अफिस प्रणाली नेपालमा कति सफल हुने हो त्यो भने समयले नै देखाउने छ ।

Comments