रंगमञ्चमा संस्कृत नाटक ‘तमसो ज्योतिषि’ मञ्चन
screennepal
प्रकाशित: २०७४, ८ माघ सोमबार
no img

काठमाडौं, ८ माघ । सरस्वती पूजाको अवसर पारेर रंगमञ्चमा संस्कृत नाटक प्रदर्शन शुरु भएको छ । रंगमञ्चमा पहिलोपटक संस्कृत नाटक मञ्चन गरिएको हो ।
श्रीपञ्चमीको अवसरमा श्री कान्तिभैरव गुरुकुल, गोकर्णेश्वर नगरपालिका–४ का विद्यार्थीले ‘तमसो ज्योतिषि’ अर्थात् अन्धकारबाट उज्यालोतिर प्रस्थान नाटक आइतबार बेलुकीदेखि प्रदर्शन शुरु गरेका छन् ।
गुरुकुलको सहयोगका लागि सामाजिक विषयवस्तुमा आधारित नाटक मञ्चन शुरु गरिएको जनाइएको छ । नाटकको शुरुवात गर्नु गर्दै भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले लोपोन्मुख भाषाको संरक्षणमा सबैको ध्यान जानुपर्नेमा जोड दिए । आयोगले भाषा सुधारका लागि काम गरिरहेको उनले बताए ।
जयतु संस्कृतम्का अध्यक्ष डा. बद्री पोखरेलले कुनै पनि कृतिलाई पढ्नभन्दा अभिनयका माध्यमबाट रंगमञ्चमा हेर्दा त्यसको सन्देश बुझिने विचार राखेका थिए भने गुरुकुल सञ्चालक समितिका अध्यक्ष प्राडा. ऋषिराम पोखरेलले संस्कृत भाषाका नाटक प्रदर्शनलाई निरन्तरता दिइने प्रतिबद्धता जनाए ।
नाटक त्रिभुवन विश्वविद्यालय संस्कृत अध्ययन संस्थानका पूर्व डीन स्व. तोयनाथ पाण्डेयले लेखेका हुन् । नाटकको निर्देशन ‘गुरुदक्षिणा’ र ‘रागविरागम्’ जस्ता संस्कृत भाषाकै टेलिचलचित्रको निर्देशन गरेका डा. घनश्याम खतिवडाले गरेका हुन् ।
आइतबार बेलुकी ४ बजेदेखि ६ बजेसम्म देखाइएको नाटक श्रीपञ्चमीका अवसरमा सोमबार विद्यार्थीका लागि अतिरिक्त प्रदर्शनस्वरुप दिउँसो १ बजेदेखि ३ बजेसम्म पनि देखाइनेछ । नाटक मंगलबारसम्म सर्वनाम थिएटर कालिकास्थानमा प्रदर्शन गरिने गुरुकुलका आचार्य सह प्रा डा श्रीराम अधिकारीले जानकारी दिए ।

Comments