नाचघरमा केलाङ र धाननाच गुञ्जिएपछि… (फोटो फिचरसहित)
screennepal
प्रकाशित: २०७४, ५ माघ शुक्रबार
no img

काठमाडौं, ५ माघ । राष्ट्रिय नाचघरको प्रेक्षालय बिहीबार ठ्याक्कै पुर्वेली गाउँघर र रहन–सहन झल्कियो । खरले छाएको सुन्दर घरले स्टेजको पृष्ठभूमि पूर्वी पहाडी गाउँघरको स्मरण गरायो भने केलाङ र धाननाचले लिम्बू समुदायको संस्कृति झल्काएको थियो । स्टेजमा एक हुल केलाङ ग्रुप (च्याब्रुङ नाच समूह) छिर्दा दर्शक कानेखुसी गर्दैथिए, ‘आहा, पुर्वी गाउँघरकै पो झल्को पाइयो ।’


हो, जहाँ लिम्बू कला, संस्कृति र रहन–सहन झल्किने कार्यक्रम ‘वेस्मा लाङ्योक–२’ अर्थात् फरक पाइला प्रस्तुत गरिँदैथियो । याक्थुङ हाक्पारे पालम सयङ र राष्ट्रिय नाचघरको आयोजना रहेको कार्यक्रममा ७० भन्दा बढी लिम्बू समुदायका चर्चित कलाकारहरु प्रस्तुत भए ।


केलाङबाट सुरु भएको कार्यक्रममा तङसिङ, धाननाच, ख्याली र मुन्धुमजस्ता लिम्बू समुदायको परम्परगत कला, संस्कृति झल्किने गरी कलाकारले आफ्नो कला प्रस्तुत गरेका थिए ।


कार्यक्रममा संगीतकार तथा प्राज्ञ अशोक लोहरुङ राईको एकल संगीतमा कलाकारहरुले् लिम्बू भाषाका गीत तथा नृत्य प्रस्तुत गरिरहँदा धेरैको मन गाउँघर पुगेको थियो । ताप्लेजुङका एक दर्शक भन्दैथिए, ‘धेरैपछि धाननाच र केलाङ हेर्न पाइयो । यो देखेर मलाई पहिले गाउँघरमा सानो छँदाको याद आयो ।’ हुन पनि पछिल्लो दशक लिम्बूहरुको धाननाच र केलाङजस्ता परम्परागत संस्कृति हराउँदै गएको छ । त्यसैको संरक्षण गर्नका लागि राजधानीमा ‘वेस्मा लाङयोक’ विशुद्ध लिम्बू भाषाको सांगीतिक कार्यक्रम सुरु गरिएको याक्थङ हाक्पारे पालम सयङले अध्यक्ष रुपा आङबुहाङले बताइन् । उनले ‘वेस्मा लाङयोक’ले लिम्बू कला, संस्कृति र परम्पराको जर्गेनाको टेवा पुग्ने विश्वास व्यक्त गरिन् ।


नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति तथा आयामेली कवि बैरागीको काइँलाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा भारत सिक्किमका बरिष्ठ कवि एवं साहित्यकार बिबी मुरिङ्लालाई अभिनन्दन गरिएको थियो । लिम्बू भाषा, साहित्य र लिपीमा उलेख्य उगदान गरेको भन्दै मुरिङ्लालाई अभिनन्दन गरिएको सयङका महासचिव सैलेन्द्र थेबेले बताए ।


कार्यक्रममा संजय तुम्रोक, कुशल थलङ, सुसन साम्सोहाङ, पदम राई, निर्मल सुब्बा, मोहन मादेन, भीमप्रसाद तुम्बाहाम्फे, गोविन्द चेम्जोङ, देशु सुहाङ, कमला आङ्बुङ, सिता सिंगक, प्रकृति थलङ, श्रेयसी चेम्जोङ, जनुरानी चेम्जोङलगायतका गायक÷गायिकाले लिम्बू भाषाका गीतसंगीत प्रस्तुत गरेका थिए ।
त्यस्तै, बबिता फोम्बो, लक्ष्मी योङहाङ, खुश्बु चेम्जोङ, गीता राई विमला खजुम, मेनुका सावदेन, भीम थेबे, विशाल सेनेहाङ, उदय बेघा, विवेक बेघा, संगीत आँखेवा, सन्तोष लिम्बू, सागर खजुम, केशर निङलेखुलगायतका कलाकारको नृत्य प्रस्तुतीले दर्शकमा थप रौनकता थपेको थियो ।

तस्बिर : नविन गुरुङ/सुनिल राजभण्डारी

Comments