एक अर्काको मायामा यसरी हराए प्रदीप र जसिता , “लिलिबिली” को पहिलो गीत रिलिज
screennepal
प्रकाशित: २०७४, १ माघ सोमबार
no img

स्क्रिननेपाल डटकम :
बैशाख १४ गते देखि प्रदर्शनमा आउन लागेको चलचित्र “लिलिबिली” को पहिलो गीत सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमको बीच निर्माण पक्षले चलचित्रको “ईज ईट लव” बोलको रोमान्टिक गीत सार्वजनिक गरेको हो । चलचित्रको यस गीतमा राजेश कुमार श्रेष्ठको शब्द , एलिस कार्कीको संगीत र प्रताप दास र मेलिना राईको स्वर समावेश रहेको छ । गीतको शब्द संगीत पक्ष निकै बलियो देखिन्छ । गीतको भिडियो पनि उत्तिकै राम्रो तयार भएको प्रष्ट देखिन्छ । भिडियोमा यूरोपको सुन्दर दृश्यमा नायक प्रदीप खड्का र नव नायिका जसिता गुरुङको रोमान्स देखाईएको छ । छायांकन पक्ष र कोरियोग्राफी पक्ष पनि निकै अब्बल देखिएको छ ।


निर्माण पक्षले माघेसंक्रान्तिको अवसर पारेर आज सबैको लागि यो गीत सार्वजनिक गरेको हो । गीत सार्वजनिक कार्यक्रममा बोल्दै चलचित्रका निर्देशक मिलन चाम्सले निकै मेहेनत गरेर यो भिडियो तयार गरेको र चलचित्रको छायांकन पनि निकै मेहेनतकै साथ नै सिध्याएको बताए । चलचित्र बिल्कुलै फरक बनेको र बैशाख १४ गते नै यसको सम्पूर्ण रहस्य खुल्ने पनि उनले बताए । यस्तै चलचित्रका अर्का निर्माता गोबिन्द शाहीले भने “लिलिबिली” पूर्ण रुपमा मनोरंजननात्मक बनेको बताए । हुन त चलचित्र “लिलिबिली” निर्माण घोषणाको बेला देखि नै चर्चामा छ । शत प्रतिशत छायांकन नेपाल बाहिर गरिएको हुनाले पनि यो चलचित्रको चर्चा अधिक छ र दर्शकहरुलाई पनि चलचित्रको औधि नै पर्खाई रहेको छ ।


निर्माण पक्षले लन्डन , स्कटल्याण्ड र टर्कीको इस्तानबुल लगाएतका ठाउँहरुमा चलचित्रको छायांकन गरेको थियो । काफिया फिल्मस् , सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण रहेको चलचित्रमा प्रदीप खड्का , जसिता गुरुङ , प्रियंका कार्की , अनुप विक्रम शाही , रितेश चाम्स , सबिन श्रेष्ठ लगाएतका कलाकारहरुको अभिनय रहेको छ । यस्तै चलचित्रमा सुदिप बरालको छायांकन , चन्द्र पन्तको द्वन्द , अर्जुन जिसीको सम्पादन र कविराज गहतराजको नृत्य निर्देशन रहेको छ । यस्तै चलचित्रमा गोबिन्द शाही , सुदिप खड्का र मिलन चाम्सको लगानी रहेको छ ।

हेर्नुस भिडियो :

Comments